मेरो बाले भन्ने गर्नुहुन्थ्यो– जिन्दगी जिउनको लागि दुई तरिका सँधै अपनाउनु । जे भइराख्या छ हुन देऊ , सहदै जाऊ । आफ्नो जिम्मेवारी आफै उठाऊ, आत्मबल दह्रो बनाऊ, ती सबै उल्झनबाट आफू उत्रिनको लागि ।’

बा जब खुशी हुनुहुन्थ्यो, तब आफ्नो सन्तानलाई आफ्नो काँधमा बोक्नुहुन्थ्यो । बा सोच्नुहुन्थ्यो कि मेरो सन्तानले त्यो सबै कुरा पाओेस्, जुन कुराबाट म सदैव बञ्चित थिएँ । हरेक बाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्, बा हिम्मत हो । बा नै सन्तानको सुरक्षाकवच हो । बा सहारा हो , बा सन्तानको पहिलो मार्गदर्शन हो । मेरो बा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो । मेरो बा नै मेरो परिवार हो । मेरो बा नै मेरो घरको जग हो । बा नै आमाको अभिमान हो, स्वाभिमान हो । बा नै हो हाम्रो सपनालाई पुरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, बा नै हो आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी ।

अघिल्ला अंकहरुमा मैले मेरा बाको सम्पूर्ण जीवनीलाई जस्ताको त्यस्तै उतार्दै जन्मदेखि मृत्युसम्मको वृतान्तलाई उठान गर्दै शब्दमा वर्णन गरेको थिएँ ।आज भने मेरा बाले आफ्ना सन्तानमाथि देखेका सपनाहरुलाई लेख्ने जमर्को गरेको छु । हामी सानै हुँदादेखि बाको एउटा सपना थियो कि मेरा छोराहरु पनि सरकारी जागिरे बनून्,मेरा छोराहरु पनि डाक्टर बनून् ।हुन त, हरेक अभिभावकहरुको सपना त्यही नै हुन्छ । तर, मेरा बाको त्यो सपना चाहिँ अलिक अनौठो नै थियो ।सन्तानलाई सुखी र खुशी राख्ने हरेक सपनाहरु पूरा गर्न बाले हरप्रयास नगरेको चाहिँ पटक्कै हैन । तर पनि, बा सक्षम हुन सक्नु भएन होला । तर पनि, हामी सबै सन्तान बासँग खुशी छौँ । बाले जे गर्न सक्नु भयो आफ्नो सन्तानको लागि त्यो नै हाम्रो जीवनमा पर्याप्त छ । बाको सपना पूरा गर्न हामी छोराछोरीले त सकेनौ नै, तर बाको सपना अब हाम्रा सन्तान अर्थात बाका नाति नातिनीले अवश्य पुरा गर्छन् होला । बाको चाहना पनि त्यही थियो कि अब मेरा नाति नातिना ठुला मान्छे बनून्, कोही डाक्टर बनून् अनि कोही सरकारी जागिरे ।

मेरा बा जिउँदो रहँदा बाको सपना प्रायः प्रायः अपुरै रहे ।तर, बाले चाहेको एउटा कुरा चाहिँ बाको मृत्युसँगै पूरा भयो ।बाको त्यो एउटा ईच्छा चाहिँ के थियो भने अहिलेको हाम्रो समाजको मलामी जाने अनि चितामा आगो छाड्नेबित्तिकै फर्किहाल्ने हाम्रो रीतिप्रति थियो । मेरा बा भन्नुहुन्थ्यो– म मरेपछि मेरो मलामी थोरै होस् तर, मेरो पुरै शरीर जलिनसकुन्जेल कोही पनि नहिँडून् ।हो, भयो पनि त्यस्तै । त्यो बाको ईच्छा पूरा भयो ।बाको मृत्यु नेपालमा कोभिडको कारण लकडाउन भएको तेस्रो दिन भएको थियो ।लकडाउनको कारण घरबाट बाहिर निस्कन पाईदैन थियो ।२५ जनाभन्दा बढी मलामी जान नपाईने नियम बनाएको थियो स्थानीय प्रशासनले । तर पनि, मेरा बाको मलामी जम्मा ५२ जना थियौँ हामी परिवारसहित । हो, ती ५२ जना नै बाको सम्पूर्ण शरीर नजलुन्जेल त्यहि घाटमै बसेका थिए ।बाले जे सोच्नु भएको थियो त्यो चाहिँ बाको ईच्छा पूरा भएको थियो ।

बाको ईच्छाबमोजिम मैले घर बनाएको थिएँ ।दाजु घर बनाउने तरखरमा थियो ।कान्छा भाइ बाआमासँगै थियो ।बाको ईच्छा त्यतिखेर नपुगे पनि अहिले दाजुले घर बनाउँदै छ ।कान्छा भाईको पहिले नै बाले बनाउनु भएको घर छँदैछ ।बा उहाँ भएपनि छोराहरुको प्रगतिमा रमाइरहनु भएको होला ।अनि छोराहरुको दुःखमा आँसु बहाइरहनु भएको होला । बाको अर्को ईच्छा थियो– मेरो छोरा र कान्छो भाईको छोराको ब्रतबन्ध गरिदिने । मैले धेरै प्रयास गरेँ तर, हाम्रो हिन्दु समाजमा नजुराई केही गर्नै नमिल्ने ।कति ठाउँ गएर ज्योतिष देखाईयो छोराको ब्रतबन्धको साईत नै जुरेन । पछि बाको बर्ष दिनको कामपछि घरमा लगाएको पुराणमा ब्रतबन्ध गरिदियौँ ।बाको त्यो सपना पनि बा बाँचुन्जेल अधुरो नै रहेको थियो ।आशा छ बाले माथिबाटै भए पनि दुबै नातिलाई आशीर्वाद प्रदान गर्नु भयो ।बाको मृत्युअघि कान्छी बहिनीको विवाह सम्पन्न गरेर बाको ईच्छा पूरा भएको थियो ।दुई छोरीहरुले आफै विवाह गरेको कारण गोडा धोएर कान्छी छोरीको विवाह गरिदिने बाको त्यो सपना पूरा भएको २४ दिनमै बाले यो संसार छोडेर जानु भएको हो ।

मेरा बाको सपना हामी छोराहरुले कति पूरा गर्यौँ होला, अरु अब कति बाँकी छ अब त्यो बाको सबै सपना पूरा गर्ने अभिभारा अब हाम्रा सन्तानमाथि छ ।अब हाम्रा छोराछोरीले पूरा गर्नु पर्नेछ ।हजुरबाले देखेको सपनालाई साकार बनाउन हाम्रा सन्तानलाई हामीले अहिलेदेखि नै तयार गर्न जरुरी देखिन्छ ।बाको ईच्छा मेरा ३ भाइ छोराहरु एक आपसमा कहिल्यै नलडून्,एकले अर्कोको दुःखसुख दुबैमा साथ र समर्थन गरुन् । जेठोलाई चोट लाग्दा माईलो र कान्छो दुबैलाई दुखोस् अनि माईलालाई आपत आईलागे जेठो र कान्छो मिलेर माईलालाई उकासोस् ।अनि कान्छालाई जेठो माईला दुबैले बाउको जस्तै माया गरून् ।यी सबै बाको ईच्छाहरु थिए ।तर अफशोस बाको मृत्युपश्चात् बाको यो ईच्छालाई बाका तीनै भाइ छोराले लत्याएका छन् ।बाले सोचेजस्तो भएनन् बाका तीनै भाइ छोरा । आफ्नो स्वार्थबाहेक अरु केही जानेनन् । मबाहेक हामी सोच्नै सकेनन् यो कस्तो बिडम्बना ।

बाको मृत्युपश्चात् धेरै समस्याहरु आए । मेरो जीवनमा पनि धेरै तनावहरु भयंकर रुप लिएर आए । तर बाको आशीर्वादले होला अनि बाले गरेका पुण्य कामले होला ती भयंकररुपी तनाव र समस्यालाई समाधान गर्न सफल भएँ । बाको एउटा भनाई म सँधै सम्झिरहन्छु“सुखमा नमातिनु अनि दुखमा नआतिनु” यिनै बाको उपदेशलाई शिरोधार्य गर्दै जाने संकल्पका साथ जीवन चलाउने छु ।बाले देखेका सपनाहरु मैले पनि मेरो छोराछोरीमा देखेको छु । मैले नसके पनि मेरा सन्तानहरुले बाका ती सबै सपनाहरु पूरा गर्न सकून् । म मात्र हैन, हामी भन्ने भावनालाई आत्मसात् गर्न सकियोस् । मेरा बाका सबै सन्तान हामी एकै हौँ ।चाहे जेठाको होस्, चाहे माईलाका हुन् ,चाहे कान्छाका हुन् भन्ने भावना हाम्रा सन्तानमा आओस् । हामीले हाम्रा सन्तानलाई सँधै सत्मार्गमा हिड्न प्रेरणा दिन सकौँ ।यहि नै हुनेछ हाम्रो बाप्रतिको सच्चा प्रेम । अनि यहि नै हुनेछ बालाई हाम्रो
श्रद्धा र स्नेह । बाको आत्माको बैकुण्ठ बास होस् । अर्को जन्ममा पनि फेरि तपाईं नै मेरो बा बन्नुस् । हार्दिक श्रद्धासुमन बा !!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्