झापा,माघ ५ । शिवसताक्षी नगरपालिका–९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ ।

कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यकारुपमा रहेको दोमुखामा जाने सडक कालोपत्र भएसँगै पर्यटकको थप आकर्षण बढेको हो । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खानेपानीलगायतका सुविधाका कारण विगत वर्षमा भन्दा यस वर्ष पर्यटक आगमन बढी भइरहेको छ ।

उनले कात्तिक पहिलो हप्तादेखि सुरु भएको पर्यटकको चहलपहल हाल खचाखच हुने गरेको बताए । उनका अनुसार वनभोज खानेको टोली दैनिक २० देखि ३० वटासम्म दोमुखामा आउने गरेका छन् । “बिदा र शनिबारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्”, उनले भने, “यसबाट आउने शुल्कसमेत राम्रै संकलन हुने गरेको छ ।”

पूर्वपश्चिम राजमार्गको माइधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्र भएको छ । यसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उनको भनाइ छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जीलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्