झापा,माघ ६ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई अनुदानको दिने भएको छ ।

गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूलाई अनुदान उपलब्ध गराउन थालेको हो ।

खच्किँदो शैक्षिक गुणस्तरलाई दृष्टिगत गरी गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विद्यालयहरूलाई अनुदान उपलब्ध गराउन थालेको हो । गाउँपालिका शैक्षिक अनुदान निर्देशिका–२०८० को तर्जुमा गरी शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्‍याउन अनुदानको प्रबन्ध गरेको हो ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार अनुदान सहयोग आवश्यकता तथा प्राथमिकताका आधारमा थप गर्दै लैजाने पनि निर्देशिकामै व्यवस्था गरिएको छ । शैक्षिक सुधारअन्तर्गत विद्यालय सञ्चालन तथा व्यवस्थापन, शिक्षक कर्मचारी तलबभत्ता, भौतिक पूर्वाधार व्यवस्थापन, दिवा खाजा, खेलकुद, छात्रवृत्ति, परीक्षा सञ्चालन लगायतमा खर्च गर्न पाउनेगरी अनुदानको प्रबन्ध गरिएको अध्यक्ष पोमूले जानकारी दिए ।

अनुदानको प्रबन्ध अन्तर्गत कक्षा १ देखि ३ र कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयले वार्षिक १०–१० हजार रुपियाँका दरले अनुदान रकम पाउने छन् । यस्तै कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयलाई २० हजार रुपियाँ, कक्षा एकदेखि १० सम्म सञ्चालित विद्यालयलाई ७० हजार र कक्षा ११ र १२ सञ्चालित शिक्षक दरबन्दी भएका विद्यालयलाई वार्षिक तीन लाख रुपियाँ अनुदान उपलब्ध गराइने भएको छ ।

कक्षा ११ र १२ सञ्चालन भएका र सो कक्षाहरू सञ्चालनका लागि दरबन्दी नभएका विद्यालयलाई भने वार्षिक आठ लाख रुपियाँ रकम पाउनेगरी अनुदानको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्