बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोक पश्चिम ब्याडमिण्टन कभर्डहलबाहिर एक महिलाको शंकास्पद शव फेला परेको छ ।

मृत्यु हुनेमा ५० बर्षीया माया कार्की मगर रहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए । बिहान ब्याडमिन्टन खेल्न आउनेहरुले ती महिलाको शव देखेर खबर गरेका थिए । उतानो अबस्थामा रहेको महिलाको टाउकोमा चोट देखिएको छ । मृतकको माईतीको ठेगाना ईलाम माई न.पा. १ महमाई कलकत्ते रहेको र अस्थायी रुपमा उनी आफन्तसंग बिर्तामोड बस्दै आएको पाईएको डीएसपी कार्कीले बताए । मृतकको शव शंकास्पद देखिएपछि शिकारी कुकुर मगाएर अनुसन्धान थालिएको कार्कीले बताए ।

उनको हालका श्रीमान रामबहादुर मगर भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनी हालसम्म सम्पर्कमा आएका छैनन् । मगर मृतकका तेस्रो श्रीमान भएको प्रहरीले बताएको छ । ती महिला मदिरा सेवन गरेर हिड्ने गरेको बताइएको छ । आफै लडेर टाउकोमा चोट लागेको वा कसैले हत्या गरेर फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्