झापा,माघ १० । मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ ।

अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुषसम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपियाँ बराबरको २८ लाख ६६ हजार ७६० केजी अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपियाँ बराबरको ११ लाख ६८ हजार ३०६ केजी अलैँची निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा १६ करोड रुपियाँ बराबरको अलैँची निर्यात बढेको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमा अलैँची रहेको छ । स्वदेशमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च हुने गर्छ ।

छिमेकी मुलुक भारतमा अलैँची निर्यात हुने गरेको छ । यो वर्ष अलैँचीको मूल्यसमेत बढेको छ । व्यवसायीका अनुसार पूर्वी जिल्लामा उत्पादन हुने अलैँची प्रतिमन (४० किलोग्राम) ७० देखि ८० हजार रुपियाँमा कारोबार भएको छ । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । यस वर्ष अलैँचीको मूल्य दोब्बरले वृद्धि हुँदा किसान उत्साहित भएका छन् ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ। अलैँचीको प्रयोग गर्दा स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ । खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रासायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्नुका साथै पेटमा ग्यास्ट्राइटिस तथा अल्सर हुनबाट रोकिने चिकित्सकको भनाइ छ । पानीमा अलैँचीको धुलो, अदुवाको रस तथा एक चिम्टी हिङ राखेर पिउनाले पेटसम्बन्धी समस्याबाट छुटकारा पाइने बताएको छ ।

वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८-७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७७-७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्