झापा,माघ ११ । दमकस्थित किओच दमक बाल अस्पतालबाट १० वर्ष मुनिका सबै बालबालिकाले निःशुल्क उपचार पाउने भएको छ । कोशी प्रदेश सरकार र अस्पतालबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै बालबालिकाले निःशुल्क उपचार पाउन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठले जानकारी दिए । यही माघ १५ गतेदेखि यो सम्झौता कार्यान्वयनमा आउने बताइएको छ ।

उनका अनुसार यस सम्बन्धीको सम्झौता मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डाक्टर भगवान् कोइराला र प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सुधा देवकोटाले हस्ताक्षर गरेको बताइएको छ ।

सम्झौताको विस्तृत विवरण प्राप्त भई नसके पनि प्रारम्भिक चरणमा अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामी बालबालिका र सम्बन्धित जिल्ला अस्पताल वा सरकारी स्वास्थ्य इकाईबाट रिफर भैँ आएका बिरामीले यो सुविधा पाउनेछन् । अस्पतालमा लामो समय भर्ना हुनुपर्ने अवस्थामा बालबालिकाहरूले पैसाको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम नेपालमानै पहिलोपटक ल्याइएको हो ।

किओचसगै कोशी प्रदेशमा विराटनगरस्थित अन्य तीन वटा निजी अस्पतालसँग पनि प्रदेश सरकारले एकैसाथ सोही प्रकृतिको सम्झौता गरेको बताइएको छ । किओच अस्पतालका संस्थापक वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान् कोइरालाले बाल अस्पतालको अवधारणा ल्याई किओच स्थापना गरेका हुन भने किओचले प्रदेश स्तरमा बाल बिशिस्टिकृत अस्पतालको योजना अघि बढाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्