झापा,माघ ११ । झापाको बिर्तामोड– ७ मा रहेको कन्चन अंग्रेजी माध्यमिक विद्यालयले एकजना मिर्गौलापीडितका सन्तानलाई निःशुल्क पढाउने भएको छ ।

विद्यालयले बिर्तामोड– ६ का मिर्गौलापीडित ४३ वर्षीय बुद्धिराज देवानका छोरा ११ वर्षीय आयुष देवानलाई कक्षा १० सम्म निःशुल्क पढाउने निर्णय गरेको हो । आयुष सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेका छन् । आज बुद्धिराजलाई विद्यालयमा बोलाई उनका छोरा आयुषलाई कक्षा १० सम्म निःशुल्क पढाइदिने कुरा जानकारी गराइएको विद्यालयका संस्थापक तथा सहप्रधानाध्यापक बद्री बास्कोटाले बताए । उनले अभिभावकको स्वास्थ्य समस्याका कारण आफ्ना विद्यार्थीको पठनपाठन अवरुद्ध नहोस् भनेर विद्यालयले सो सहयोग गरेको जानकारी दिए । ताप्लेजुङबाट बसाइँ सरेर आएका बुद्धिराज बिर्तामोड ६ मा भाडाको घरमा बस्छन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यही उनको दुईवटै मिर्गौला खराब भएको पत्ता लागेको थियो । विरामी भएर नेपाल फर्केका बुद्धिराजले विगत एक महिनादेखि भद्रपुरको ओमसाई हस्पिटलमा डाइलोसिस गराउँदै आएका छन् । उनकी श्रीमती माया देवान वैदेशिक रोजगारीका लागि इराकमा रहेकी छन् ।

आर्थिक अबस्था कमजोर भएका बुद्धिराजले आफ्ना छोरालाई विद्यालयले निःशुल्क पढाइदिने निर्णय गरेर सहयोग गरेकोमा धन्यवाद दिएका छन् । ग्रामीण क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्ने कंचन अंग्रेजी माविले असहाय र दीर्घरोगी भएका अन्य अभिभावकका सन्तानलाई पनि निःशुल्क पठनपाठन गराउँदै आएको छ । असहाय र दीर्घरोगी भएका अन्य ६जना अभिभावकका छोराछोरीलाई आफ्नो विद्यालयले निःशुल्क पढाउँदै आएको विद्यालयका अर्का संस्थापक डिल्लीराज चम्लागाईले बताए । उनका अनुसार त्यसरी निःशुल्क अध्ययन गरेका दुईजना विद्यार्थीहरुले एसईई उत्तीर्ण गरेका छन् भने एकजनाले यस वर्ष एसईई परीक्षा दिँदैछन् ।

२०६४ सालमा स्थापना भएर कक्षा १० सम्म अध्ययन भइरहेको त्यस विद्यालयमा ५४० जना विद्यार्थी छन् । विद्यालय ग्रामीण क्षेत्रमा रहेपनि भौतिक पूर्वाधारले सम्पन्न ३ वटा भवनमा २७ वटा कोठा रहेका छन् ।विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्