झापा,माघ १३ । नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ।

स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडास्तरबाटै कार्यान्वयन गराउन पहल गर्नेगरी अभियान सञ्चालन गर्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरिने छ।
अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा ६ हजार ७४३ वटै वडामा प्रतिनिधि खटाउने तय भएको पौडेलले बताए।
अभियान सुशील कोइरालाको स्मृति दिवसका दिन माघ २६ गते समापन हुने जनाइएको छ।

यसैबीच पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने दिन आज महामन्त्री गगन थापा आफ्नो छुट्टै यात्रामा निस्किने भएका छन्। उनी मेची–महाकाली संवाद यात्रामा निस्किन लागेका हुन्। झापाको भद्रपुर वडा नं ५स्थित मेची पुलबाट उनले सो यात्रा शुरु गर्ने भएका छन् ।अहिले बिहान सो यात्रा उनले शुरु गर्न लागेको जनाइएको छ । उनी आजै झापाका अन्य छोटी भन्सारमा पुग्ने छन् । १३ दिने यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता तथा जनताका आवाज सुन्ने छन्।

एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ। तर पार्टी अभियानका बेला छुट्टै नाम दिएर यात्रा शुरु गरेपछि कांग्रेस वृत्तमा उनको आलोचना भएको छ। यसलाई उनको व्यक्तिगत महत्वाकांक्षा र आगामी महाधिवेशनमा सभापतिका लागि दौडधुपको रूपमा हेरिएका छन् ।
महामन्त्री थापाले भने ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत नै यात्रा शुरु गर्न लागेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्