झापा, माघ १४ । नेताहरुले राज्यको करोडौ बजेट खर्चेर लथालिङ्ग छाडेपछि स्वतःस्फूर्त श्रमदानमा उत्रिएका स्थानीयहरुले नेत्रपार्कमा खटेको आज एक साता हुँदैछ ।

उनीहरुले लगातार श्रमदान गरिरहेका छन् । ६ दिनसम्म करिव ८ सयजनाले स्वतःस्फूर्त श्रमदान गरिसकेका छन् । श्रमदान गरेको छैटौ दिनसम्म आइपुग्दा नेत्रपार्कको मुहार फेरिएको छ । झाडीले ढाकिएको नेत्रपार्क सुन्दर र आकर्षक देखिएको हो ।

बिर्तामोड नगरपालिका ७ नं वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहले माघ ८ गतेदेखि आयोजना गरेको बृहत् श्रमदान अभियानमा स्थानीय क्लब, टोल विकास संस्था ,जनप्रतिनिधि,मजदुर , व्यवसायी , पत्रकार,सुरक्षाकर्मीलगायतको सहभागिता रहेको छ । स्थानीय एनवाईसी क्लब , न्युस्टार क्लब, रेखा टोल विकास संस्था ,झोलुङ्गे टोल विकास संस्था , सीताराम टोल विकास संस्था , बाह्रघरे टोल विकास संस्था , सिमसार टोल विकास संस्था , सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता रहेको श्रमदानमा बिर्तामोडभरिकै नगरवासीहरुको सहयोग रहेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । उनले श्रमदानसंगै खाजा,पानी र रंगरोकनको सामानमा पनि स्वतःस्फूर्त सहयोग प्राप्त भइरहेको जानकारी दिए । पार्कमा रहेका रुख रंगरोकन गर्न बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , २ का वडाध्यक्ष किशोरकुमार पौडेल, पूर्व वडा सदस्य लक्ष्मी बाँस्कोटालगायतले रंग उपलव्ध गराएको सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री प्याकुरेलले बताए । उनले शेखर कँडेल , विष्णु भट्टराई , राजकुमार संग्रौला , एनवाईसी क्लब, पूजा पौडेललगायतले खाजा, पानीको प्रवन्ध गरिदिएको जानकारी दिए । त्यस्तै पदम खत्रीको स्मृतिमा सरोज न्यौपानेले एउटा ट्युवेल गाडिदिएका छन् भने ३ वटा वन ट्युवेल समूहले गाडेको अध्यक्ष प्याकुरेलले जानकारी दिए । ‘श्रमदानसंगै विभिन्न सहयोगहरु पनि प्राप्त भइरहेको छ ’प्याकुरेलले भने,‘ बाँकी वन समितिले बेहोर्दै आएको छ ।’

शनिवार विदाका दिन करिव दुई सयजना श्रमदानमा खटिएका थिए । प्रदेश सांसद एकराज कार्की , बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेल,एमालेका नगर इन्चार्ज देवराज कार्कीलगायत शनिवारको श्रमदानमा सहभागी भएका थिए । भुटानी शरणार्थीहरु तेस्रो राष्ट्र पुनर्स्थापित भएपछि गोलधाप शरणार्थी शिविर खाली भएको थियो । त्यसपछि सुन्दर निचाझोडा सामुदायिक वनको सो खाली जग्गामा सहिद नेत्रपार्क निर्माण गरिएको थियो । विभिन्न संरचना निर्माणपछि सञ्चालन नै नभई नेत्रपार्क बेवारिसे अवस्थामा पुगेको थियो । नेत्रपार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । त्यस्तै स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको थियो । पार्कभित्र डाइनोसर प्रतिमा समेत राखिएको थियो । पोखरी पातपतिङ्गरले पुरिन लागेको थियो भने स्वीमिङ पुल प्रयोगविहीन बनेको थियो ।

श्रमदानसंगै नेपाल सरकारको १०१ गन्तब्यमा पर्न सफल सहिद नेत्रपार्क अब संचालनमा आउने वडाध्यक्ष खरेलले बताए । त्यस पार्कमा माघ २२ गते प्रेस चौतारी झापाको कार्यक्रम हुन लागेको छ भने माघ २८ गते बिर्तामोड नगरपालिकाको नगरसभा त्यही पार्कमा हुने भएको छ । आगामी शनिवारदेखि पिकनिक संचालन हुनेगरी सबै सेवा सुविधा उपलव्ध गराइने वन समितिका अध्यक्ष प्याकुरेलले जानकारी दिए । शुरुवाती समयमा पिकनिकका लागि प्रवेश निःशुल्क गरिएको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्