झापा,माघ १४ । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रूपैयाँ मात्र पाए। नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ। किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन्।

‘चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौं,’ अधिकारीले भने।

सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ। उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए।

‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौं। हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौं,’ नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ। चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौं भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ। तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन।’

किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हातेमेसिन प्राप्त गर्न लागेका हुन्।

‘त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ। अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौं,’ उनले भने, ‘चियालाई ‘अग्र्यानिक’ बनाउन पालिका लागिरहेको छ।’

एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए।

‘व्यापारीलाई कहिल्यै घाटा हुँदैन। उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ। तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन। ठूलो घाटा भनेको किसानलाई हुने हो। त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौं,’ उनले भने।

राम्ररी टिपेको चिया ४० रूपैयाँ देखिमाथि दुई सयसम्म पनि बिक्री भइरहेको उनको भनाइ छ।

‘गुणस्तरीय चिया टिपौं न। चियाको न्यूनतम समर्थन मूल्य रु ४० हो । तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ,’ उनले भने।

उनी भन्छन्, ‘चालिस प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले ४० रुपैयाँ दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौं।’

सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्