झापा,माघ १४ । कोशी अस्पतालमा स्वार्थ समूहको दबाब र प्रभावमा कर्मचारी नियुक्तिका लागि व्यापक चलखेल भइरहेको अर्को विषय बाहिर आएको छ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर सरकारी अस्पतालमा कर्मचारी भर्नाको दरखास्त आह्वान गरिएको फेला परेको हो। अस्पताल विकास समितिका नाममा आफूनिकटका व्यक्तिलाई कर्मचारी बनाएर करारमा नियुक्त गर्न विभिन्न हत्कण्डा अपनाइएको छ। राजनीतिक नियुक्तिका आधारमा बनेको समितिले मनमौजी गर्दा पनि सरोकारवाला एवं सम्बन्धित निकाय मौन छन्।

समितिका अध्यक्ष डा. फरवार्ड सिलवालसमेतको ठाडो हस्तक्षेपमा जथाभाबी मापदण्ड बनाएर आफूअनुकूल विभिन्न पदका कर्मचारी भर्नाका लागि शंकास्पद् हिसाबले विज्ञापन गरिएको छ। डा. सिलवाल ३ वर्षे कार्यकालका लागि गत असार २७ गते समितिको अध्यक्ष नियुक्त भएका हुन्। उनीलगायतले ‘सेटिङ’मा आफूनिकटका व्यक्तिलाई छिराउन चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकको पदपूर्तिसम्बन्धी सूचना जारी गर्न लगाएको स्रोतले बतायो।

माघ ४ गतेको मिति राखेर २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ।

अस्पतालले जारी गरेको सूचनामा चलानी नम्बर र पत्र संख्या क्रमबद्ध छैन। एउटा क्रम संख्या नै गायब छ। १ देखि एकैपटक ३ भनेर क्रम संख्या उल्लेख छ। ६ सम्मको क्रम संख्या उल्लेख गरिएको सूचनामा २ नम्बर गायब छ।

क्रम संख्या १ नै सूचनाको अन्तिममा राखिएको छ। त्यसमा पाँचौं तहको फार्मेसी सहायक ७ जना, क्रम संख्या ३ लाई पहिलोमा राखेर आठौं तहका मेडिकल अधिकृत १०, क्रम संख्या ४ लाई दोस्रोमा राखेर सातौं तहको नर्सिङ अधिकृत १, क्रम संख्या ५ लाई तेस्रोमा राखेर पाँचौं तहको स्टाफ नर्स ३० र क्रम संख्या ६ लाई चौथोमा राखेर पाँचौं तहको बायोमेडिकल टेक्निसियन २ जनाका लागि दरखास्त आह्वान गरिएको छ। क्रम संख्या २ नराखिकन सूचना सार्वजनिक गरिएको हो।

सुरुवातमा तीन महिने करारको लागि भर्ना गरिने कर्मचारीको त्यसपछि सेवा अवधि थपिँदै जाने सूचनामा उल्लेख छ। लिखित र अन्तरवार्ता गरी परीक्षाका दुवै विधि अपनाएर आठौं तहको मेडिकल अधिकृत, पाँचौं तहको स्टाफ नर्स र पाँचौं तहको फार्मेसी सहायक नियुक्त गर्ने भनिएको छ। तर, सातौं तहको नर्सिङ अधिकृत र पाँचौंको बायोमेडिकल टेक्निसियनका लागि अन्तर्वार्ताबाट मात्रै भर्ना लिइने भनेर विवादास्पद् हिसाबले विज्ञापन गरिएको छ।

पाँचौं तहलाई लिखित र अन्तर्वार्ता दुवै लिनेगरी दरखास्त आह्वान गरिए पनि सातौं तहलाई अन्तर्वार्तामात्रै लिएर नियुक्ति दिने तयारी छ। अर्कोतर्फ कर्मचारी भर्नाको विज्ञापनलाई सञ्चार माध्यममार्फत् सार्वजनिक गरिएको छैन। अस्पतालको वेबसाइटमा मात्रै राखिएको छ। ‘गुपचपुमै कर्मचारी भर्ना तयारी थियो,’ अस्पताल स्रोतले भन्यो, ‘तर, विवादित हुने भएपछि वेवसाइटमार्फत् सूचना प्रकाशन गरिएको छ।’

एक कर्मचारीका अनुसार सञ्चार माध्यममार्फत् विज्ञापन नगरिकन कर्मचारी भर्ना गर्न खोज्नु सरासर गलत हो। कोशी अस्पतालमा पहिलो पटक सातौं तहको नर्सिङ अधिकृत नियुक्तिको तयारी गरेपनि विकास समितिले सिधै अन्तर्वार्तामात्रै लिएर आफ्ना मान्छे छिराउन खोजेको उनको भनाइ छ। उनका अनुसार तल्लो तहलाई लिखित र अन्तर्वार्ता दुवै परीक्षा लिने तथा माथिल्लो तहलाई अन्तर्वार्ताका भरमा नियुक्तिको तयारी हुनुले नै चलखेल प्रष्ट हुन्छ।

अस्पतालमा नयाँ कर्मचारी नियुक्तिका लागि ३ जनाको पदपूर्ति समिति बनाइएको छ। अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरी नेतृत्वको समितिमा फिजिसियनहरु डा. दिनेश न्यौपाने र डा. मनोज ठाकुर सदस्य छन्।

यो अस्पताल कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो। तर, पटक–पटक राजनीतिक हस्तक्षेपको कोपभाजनमा परिरहेको छ। कानुनविपरीतका अनेक गतिविधिको सिकार बनाइँदा विकृति र विसंगतिले प्रसय पाएको नागरिक अगुवा केशव अधिकारी बताउँछन्। उनका अनुसार राजनीतिक आडमा स्वार्थपूर्ति गर्ने समूहले हालीमुहाली गरिरहँदा अस्पताल थिलथिलो र धराशायी बनिरहेको छ।

अस्पताललाई डुबाउन पछिल्लो समय झन् ठूलो चलखेल भइरहेको पाइएको अधिकारी बताउँछन्। उनले गलत मनसाय राखेर गरिएको विज्ञापन रद्ध गरेर त्यसलाई छानिबन एवं कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। यसअघि लिखित र अन्तर्वार्ता दुवै माध्यमबाट अस्पतालमा कर्मचारी भर्ना गरिन्थ्यो। अहिले भने मनपरी मापदण्ड तयार गर्दै आफन्त, नातागोता र आफूनिकटकालाई नियुक्ति दिन ठूलो चलखेल भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्