झापा, माघ १४। झापामा सुन लुटपाटको घटना बढेको छ । दमकमा एकजना बृद्धाको सुन लुटेको चार दिनपछि बिर्तामोडमा पनि त्यसरी नै सुन लुटिएको छ ।

नक्कली सुन दिएर सक्कली सुन लुटपाट

बिर्तामोड– ५ स्थित हनुमान सेन्टरनजिकै एक समूहले बृद्धालाई नक्कली सुन दिएर सक्कली सुन लिएर फरार भएको छ । आइतबार अपराह्न बिर्तामोड ५ की ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औँठी लिएर तीन–चार जनाको समूह फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार ३–४ जनाको संख्यामा रहेका व्यक्तिले नक्कली सुन देखाएर बृद्धाले लगाएको सक्कली सुन लिएर फरार भएका छन् । बृद्धालाई सुनजस्तो देखिने नक्कली सुनको ढिक्का दिई उनले लगाएको सुन लिएर फरार भएको प्रहरीले जनाएको छ ।

यसअघि गत बुधवार दमक ३ की ६७ वर्षीया नैनकला विश्वकर्मालाई पनि दमक बजारस्थित एड्भान्स हस्पिटल अगाडि त्यसरी नै लुटेका थिए । अन्दाजी ३५ वर्षका दुईजना युवाहरुले ती बृद्धाको सिक्री र मारवाडी केही समयका लागि दिनु भन्दै नक्कली सुनको ढिक्का दिएर सुन ठगी गरी लगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्