झापा, माघ १७ । झापामा लकर फुटाएर सहकारीमा फेरि चोरी भएको छ ।

भद्रपुर नगरपालिका १ सोमबारेस्थित साना किसान सहकारी संस्थामा गएराति चोरी भएको हो । कार्यालयको झ्यालको पल्ला र ग्रिल फोडेर चोरले भित्र प्रवेश गरी लकर फोडेर लकरभित्र रहेको नगद ३ लाख २ हजार ९७६ रुपैयाँ र सीसी क्यामेराको हार्ड डिस्क चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

दुई दिनअघि हल्दिबारीस्थित एक सहकारी र दूध सङ्कलन केन्द्रमा चोरी भएको थियो । सोमवार राति हल्दिबारी गाउँपालिका– ४ स्थित जलथल साना किसान सहकारी संस्थामा चोरी भएको हो ।चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार चोरी गरेको थियो । त्यस्तै दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी भएको थियो । सीसी क्यामेरा अफ गरेर डिविआर समेत चोरी भएको थियो ।

यसअघि हल्दिवारीको सहकारीमा भल्ट तोडेर चोरी गर्ने एकजना गत पुष २० गते पक्राउ परेका थिए । करिव ११ महिनाअघि हल्दिवारी २ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्थामा भएको चोरीमा संलग्नताको आरोपमा सर्लाहीका सुजित आलेलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । २०७९ साल माघ २० गते उक्त सहकारीको मुख्य गेट र भल्ट (सेफ) फुटाई ११ लाख ७ हजार ७ सय ६३ रुपैयाँ चोरी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्