भद्रपुर , माघ १७ । विवेक कार्की सांगीतिक प्रतिष्ठान भद्रपुर १० ले गायक तथा संगीतकार विवेक कार्कीको सातौं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाएको छ ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र भद्रपुर ६ को प्रांगणमा स्व. विवेकका बुवा लक्ष्मी कार्की र आमा रिता कार्कीको उपस्थितिमा सो केन्द्रमा आश्रितहरुका लागि खाद्यान्न तथा फलफूल वितरण, श्रद्धाञ्जली अर्पण र सांगीतिक प्रस्तुतीसहित सातौं स्मृति दिवस मनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षता, महासचिव रुमा राजवंशीको संचालन र उपाध्यक्ष रमेश पोखरेलको स्वागत मन्तव्यसहित सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरका प्रमुख गणेश पोखरेल, विशिष्ट अतिथि उपप्रमुख राधा कार्की र नेपाल अपांग संघ झापाका अध्यक्ष ऋषि चापागाईंले गायक तथा संगीतकार विवेक कार्कीलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसैगरी प्रतिष्ठानका सचिव निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए ।

गायक तथा संगीतकार विवेकको २९ बर्षको अल्पायुमा २०७३ साल माघ १७ गते ह्रदयघातबाट निधन भएको थियो । उनले आधुनिक संगीतका क्षेत्रमा योगदान दिएका थिए भने रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर एल्वम पनि निकालेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्