झापा , माघ १८ । दुर्गा माध्यमिक विद्यालय गरामनीको ६८ औं वार्षिकोत्सव कार्यक्रममा पुरुष र महिला शिक्षकहरुले नाचिरहँदा नाच हेर्दै गरेका विद्यार्थीहरुले कराइरहेका थिए । कुनै विद्यार्थीले हुटिङ गरिरहेका थिए भने कुनै विद्यार्थीले पुरुष र महिला शिक्षकहरुको नाचलाई बिल्ला पनि गरिरहेका थिए ।

दुर्गा माविका शिक्षकहरुको नृत्य

दुर्गा माविमा मात्र नभएर गत वर्षदेखि झापाका विद्यालयहरुमा पुरुष र महिला शिक्षकहरुले नाच्ने फेसन नै शुरु भएको छ । वार्षिकोत्सव आउनुभन्दा करिव एक महिना अघिदेखि नै शिक्षकहरु नाच्ने अभ्यास गर्न थाल्छन् । विद्यार्थीहरुसंगै शिक्षकहरुले पनि नाच देखाउन पाउनु पर्छ भन्दै रिहर्सल चल्न थाल्छ । वार्षिकोत्सवमा विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउनुभन्दा पनि शिक्षकहरु आफै नाच सिकेर नाच देखाउने काममा उद्धत भएको अभिभावकको गुनासो छ ।

वीर अमरसिंह माविका शिक्षकहरुको नृत्य

गत पुष १८ गते बिर्तामोड ५ स्थित देवी माविको ६१ औं वार्षिकोत्सव कार्यक्रममा पुरुष र महिला शिक्षकहरुले सामूहिक नाच देखाए । त्यस्तै तीन दिनअघि आयोजित बिर्तामोड २ स्थित वीर अमरसिंह माविको ६६ औ वार्षिकोत्सवमा पनि शिक्षकहरुले नाच देखाएर तहल्का मच्चाए । दुर्गा माविका शिक्षकहरुले पनि बुधवार ६८ औं वार्षिकोत्सवमा नाच देखाएर आफ्नो रहर पूरा गरेका छन् । यसरी शिक्षकहरुले विद्यार्थीसंगै देखाउने गरेको नृत्यलाई सकारात्मक र नकारात्मक दुवै किसिमबाट लिन सकिने बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी बताउँछन् । शिक्षकहरु आफैले नृत्य देखाउँदा विद्यार्थीहरु सिकाईमा बढी अभिप्रेरित हुनसक्ने उनले बताए । तर, विद्यार्थीलाई सिकाउनुभन्दा आफैले मात्र सिकेको खण्डमा र विद्यार्थीको पठनपाठनमा समस्या भएमा त्यसको नकारात्मक असर पर्न नजाने उनको भनाई छ ।

देवी माविका शिक्षकहरुको नृत्य

रमाइलोको लागि शिक्षकहरुको नाच स्वाभाविक भएपनि कक्षा छोडेर एक महिनादेखि नाच सिक्न जाने र विद्यालयको रकमले नाच्ने पोशाक किन्नेजस्ता प्रवृति गलत भएको अभिभावक काजी बुढाथोकी बताउँछन् ।‘ रमाइलोको लागि शिक्षकहरुको नाच ठीक छ’ उनले भने,‘फेसनको रुपमा बढ्दै गई विद्यार्थीको सट्टा शिक्षकहरु नै नृत्य प्रतियोगितामा भाग लिन थाले भने त्यसले विकृति ल्याउन सक्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्