झापा, माघ २२ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन फेरि बिथोलिएको छ ।

हिजो स्थगित भएर आज सुचारु गरिएको निर्वाचन आज फेरि विवाद भएर बिथोलएको हो । अर्जुनधारा नगरपालिकाले सिफारिस गरी पठाएको किसान प्रतिनिधिमा विवाद भएको हो । अर्जुनधारा नगरपालिकाले पाँचजनामध्ये राजेन्द्र काफ्ले नामका व्यक्तिलाई किसान प्रतिनिधिको रुपमा सिफारिस गरी पठाएको थियो । राजेन्द्र काफ्ले नामका व्यक्तिले मतदान गरिसकेपछि त्यही नामका अर्का व्यक्तिले आफूले मतदान गर्न पाउनु पर्छ भनेपछि विवाद भएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए । ४० जना मतदातामध्ये २६ जनाले मतदान गरिसकेपछि सक्कली नक्कली मतदातामा विवाद भएको हो ।

मतदातामा विवाद भएपछि नेपाली कांग्रेस , नेकपा एमालेलगायतका राजनीतिक दलहरुको सल्लाहमा निर्वाचन मतदान रोकेको अध्यक्ष पौडेलले बताए । अर्जुनधाराबाट भिमप्रसाद लम्साल , रमेश काफ्ले , राजेन्द्र काफ्ले , विन्दा सुवेदी लुइटेल र भानु मिश्रलाई किसान प्रतिनिधिको रुपमा सिफारिस गरिएको थियो । पहिला मतदान गरिसकेका राजेन्द्र काफ्ले नामका व्यक्तिलाई नै नगरपालिकाले सिफारिस गरेको जनाइएको छ ।
पालिकाहरुले सिफारिस गरी पठाएका किसान प्रतिनिधिका बारेमा हिजो पनि विवाद भएपछि निर्वाचन स्थगित गरी आजका लागि सारिएको थियो ।

यसअघि शनिवार व्यवसायीहरुको निर्वाचन सम्पन्न भएर आइतवार किसानहरुको निर्वाचन हुने कार्यक्रम रहेको थियो । गैरकिसानलाई पालिकाहरुले सिफारिस गरी पठाएको भन्दै उनीहरुविरुद्ध दावी विरोध परेको थियो । बिर्तामोडका निरजकुमार ओली , अर्जुनधाराका भीमप्रसाद लम्साल र रमेश काफ्ले ,कन्काईका कृष्णमाया भुजेल र तपनकुमार मण्डलविरुद्ध उजुरी परेकोमा छानबिन गरी उनीहरुलाई सदर गरिएको थियो । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । बिर्तामोड , अर्जुनधारा , कन्काई , मेचीनगर , भद्रपुर नगरपालिका तथा बाह्रदशी ,हल्दिवारी र बुद्धशान्ति गाउँपालिकाका नेतृत्वहरुले पाँच–पाँच जनाको दरले किसानको नामभन्दा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई सिफारिस गरेका छन् ।

यसअघि शनिवार भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भएका थिए ।
निर्वाचित हुनेहरुमा इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र खगेन्द्र महतो रहेका छन् ।

यसैबीच सोमवार साँझ बसेको सर्वदलीय बैठकले आजको मतदानलाई रद्ध गरेको छ । बुधवार पुनः मतदान गर्नेगरी सोमवारको मतदान रद्ध गरिएको कृषि बजार व्यवस्थापन समितिका सदस्य सचिव सिताराम नेपालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्