झापा, माघ २२ । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी चर्चित गायिका मेनुका पौडेललाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ ।

यसक्रममा हल्दिबारी गाउँपालिकाले उनलाई नगदसहित कदरपत्रले सम्मान गरेको छ। हल्दिबारी वडा नं ४ बडावारीकी स्थायी बासिन्दा मेनुकालाई ४५ हजार नगदसहित सम्मान गरिएको हो । उनी ‘इन्डियन आइडल’ को आइतबारको दौडबाट बाहिरिएकी थिइन्।सम्मान कार्यक्रममा बोल्दै उनले इन्डियन आइडलको यात्रा टुंगिए पनि जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताइन् । मेनुकाले भनिन्,“सबैलाई नमस्कार, आइडलको स्टेज मेरो लागि एकदमै उत्कृष्ट रह्यो, सुरुदेखि अहिलेसम्मका गीतहरू मेरा लागि ठुलो अनुभूति भयो ।” हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ५ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले उनलाई सम्मान गरेका थिए ।


त्यस्तै मेनुकालाई सीमावर्ती शहर काँकडभिट्टामा सोमवार सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ ।
भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले अबिर, खादा र माला पहिर्याएर उत्सव मनाएका थिए । उनलाई स्वागत गर्न कोशी प्रदेशका प्रदेशसभा सदस्य छवि चुडाललगायत ठूलो संख्यामा शुभचिन्तक तथा आफन्त नेपाल–भारत सीमामा रहेको मेची पुल पुगेका थिए।

“धेरैपछि आज नेपाल आएको छु” स्वागतार्थ प्रतीक्षामा बसेका समर्थकहरूप्रति खुसी व्यक्त गर्दै उनले भनिन्,“सबैलाई नमस्कार, आइडलको स्टेज मेरो लागि एकदमै उत्कृष्ट रह्यो, सुरुदेखि अहिलेसम्मका गीतहरू मेरा लागि ठुलो अनुभूति भयो ।”
त्यसक्रममा उनले नेपाली कला र संस्कृति जोगाउनुपर्ने कुरा राख्दै त्यसका लागि नेपाल सरकारलाई आग्रह गरिन् ।गायिका मेनुकाको स्वागतका लागि संविधानसभा सदस्य उषा गुरुङ, महिला नेतृहरू राधा कार्की, बिटु गुरुङ, बबिता पाण्डे, सामाजिक अगुवा नारायण बस्नेत, युवा व्यवसायी सुरज सुवेदी पनि उपस्थित थिए ।

मेची पुल, काँकडभिट्टा बजारलगायतका स्थानमा गरिएको अभिनन्दनका क्रममा झापा नेत्रहीन संघ झापा, हल्दिवारी गाउँपालिकाबासी, वीरता लेडी जेसीज बिर्तामोड, मेची सामुदायिक सेवा केन्द्रलगायत काँकडभिट्टाबासी सहभागी थिए ।
इन्डियन आइडलमा आफ्नो प्रस्तुति दिएर नेपाललाई विश्वभर चिनाएकी गायिका मेनुकाको स्वागत तथा अभिनन्दनका लागि बिहानैदेखि काँकडभिट्टा बजारमा विभिन्न संघ संस्था र स्थानीय भेला भएका थिए ।

मेनुका नेपाल आउँदै गरेको खबर पाएपछि उनका समर्थक एवं संगीतप्रेमीहरु ‘नेपालीहरूको शान, मेनुका पौडेलप्रति उच्च सम्मान’ लेखिएको ब्यानर बोकेर बधाई दिन पर्खिरहेका थिए । बिर्तामोडस्थित सप्तक संगीत विद्यालयको अगुवाइमा काँकडभिट्टाबाट सुरु भएको अभिनन्दन ¥यालीले धुलाबारी, चारआली हुँदै बिर्तामोड नगरको परिक्रमा गरेको थियो ।
उनलाई सो विद्यालयका संस्थापक एवं गुरु सरोज वत्स, चर्चित हाँस्य कलाकार बिल्सनविक्रम राईलगायतको टोली बिहानै भारतको बागडोग्रा एयरपोर्ट प्रस्थान गरेको थियो । मेनुकाले इन्डियन आइडलमा प्रतिस्पर्धा गरी संसारलाई चकित पारेकी थिइन् । उनले आफ्नो गायनकलाबाट निर्णायक मण्डललाई मन्त्रमुग्ध पार्दै मन जितेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्