बिर्तामोड ,माघ २२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारको नेतृत्व अन्य दललाई दिनु हुँदैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने,‘ सरकारको नेतृत्वमा पार्टीको जो–कोही आएपनि मेरो विरोध रहँदैनथ्यो ।’राजनीतिमा संकीर्ण मानसिकता राख्न नहुने बताउँदै उनले सबै विचार र आस्थाका ब्यक्तिहरुसँगको निरन्तर भेटघाट र विचार मन्थनपछि नयाँ विचार पस्कन सकिने भनाई राखे ।
उनले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्ने गरी मिहिनेत गरेर पार्टी संगठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वाभाविक भएपनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले वैचारिक गुटलाई पार्टी संगठन बलियो बनाउन लगाउनुपर्नेमा जोड दिए ।
अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उनले आफू निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राखे । अर्को एक फरक प्रसंगमा आफू हिन्दु धर्मावलम्बी भएको स्पष्ट पार्दै नेता कोइरालाले भने–‘राज्यको धर्म हुँदैन भन्नेमा म स्पष्ट छु । मैले मेरो धर्म र संस्कृति अनुसारको आस्था राख्न र संस्कार गर्न पाउनुपर्छ।’ पछिल्लो समय धर्म निरपेक्षताको आडमा ब्यक्तिको आस्था, संस्कार र संस्कृतिमाथि नै प्रहार हुन थालेकोप्रति उनले दुःख ब्यक्त गरे ।

कृषि उद्योग स्थापना गरेर रोजगारीको सिर्जना अहिलेको आवश्यकता रहेको चर्चा गर्दै उनले विपन्नले कृषि अनुदान नपाउने अवस्थाको अन्त्य गर्न माग समेत गरे ।
‘नेतालाई प्रजातन्त्र आएपनि जनतालाई आएको छैन’नेता कोइरालाले भने,‘जनतालाई प्रजातन्त्र र सुशासनको प्रत्याभूति दिन सक्नुपर्छ र मात्रै प्रजातन्त्र आएको अनुभुति हुन्छ।’ जनतालाई प्रजातन्त्रको अनुभुति दिन भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले समुदायमा पार्टी स्थापित गरेर एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
नेताको निर्देशन र निगाहमा अवसर पाउने प्रवृत्तिले पार्टीलाई क्षति पुग्ने धारणा राख्दै नेता थापाले यसको अन्त्य नभए पार्टीको भविष्य अन्योलमा पर्ने बताए । नेतृत्वको आसपासमा हुनेलाई मात्र अवसर दिने अवस्थाको अन्त्य गरेर योगदानको आधारमा अवसर दिन उनको आग्रह थियो ।
पार्टीका केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था परिवर्तन गरी जनताबाट अनुमोदित हुने ब्यवस्था लागु गर्न उनले माग समेत गरे ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले समुदायमा कांग्रेस अभियान एवं पार्टी संगठनको सक्रियताका लागि वडातहमा महाधिवेशन र जिल्ला सदस्यहरुलाई प्रतिनिधि खटाइएको जानकारी दिए ।

पार्टी सभापति थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केशवराज पाण्डेले स्वागत गरेका थिए भने सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए । कार्यक्रममा उषा गुरुङ, नारायण बस्नेत, हर्क फियाक, रतन थिङ्लावो, विटु गुरुङ, किशोर ढुगेल लगायतले आ–आफ्ना जिज्ञासा राख्दै पार्टीभित्र उमेरहद वा निश्चित पदावधिको ब्यवस्था गर्न, युवाहरुलाई अवसर दिन, गुटगत राजनीति अन्त्य गर्न माग गरेका थिए ।
समुदायमा कांग्रेस अभियानका लागि झापा संयोजक समेत रहेका ोइरालाले यसअघि दमक नगर समितिको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्