बिर्तामोड,माघ २४ । अनिश्चितकालका लागि स्थगित गरिएको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन गराउन नेकपा एमालेले आग्रह गरेको छ ।

दुई पटक बिथोलिसकेको कृषि बजार व्यवस्थापन समितिको निर्वाचन फेरि स्थगित भएकोे हो । सोमवार बिथोलिएको निर्वाचन आज हुने भनिएको थियो । निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृतले सूचना जारी गरी आजको निर्वाचन पनि अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन् । नेकपा एमाले जिल्ला कमिटी झापाका सचिव शिव ढुंगेलले प्रेस विज्ञप्ति जारी गरी अनिश्चितकालीन निर्वाचन स्थगित गरेको निर्वाचन समितिलाई तुरुन्त आफ्नो निर्णय सच्याउँदै निर्वाचन गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘माघ २४ गते पुनः निर्वाचन गराउने निर्वाचन समितिको निर्णयलाई सर्वदलीय बैठकको नाटक मञ्चन गरी नेकपा (एमाले) बाहेक वर्तमान सत्ता गठबन्धन र राप्रपा समेतले निर्वाचन नगर्न भनेको आधारमा षड्यन्त्रपूर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालीन रुपमा निर्वाचन स्थगन गरेको छ । हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भर्त्सना गर्दछ । नेपाली कांग्रेस सत्ता गठबन्धनलगायत कृषिथोक बजार व्यवस्थापन समितिको निर्वाचनका क्रममा बनेको अघोषित गठबन्धनको यो निर्लज्ज व्यवहार र निर्णयको बन्दी बनेको निर्वाचन समितिले तुरुन्त आफ्नो निर्णय सच्याउँदै निर्वाचन गर्न आग्रह गर्दछौ ।’

साथै निर्वाचन प्रक्रिया अगाडि नबढाएको खण्डमा आन्दोलन तथा कानुनी उपचारका लागि नेकपा एमाले अघि बढ्ने विज्ञप्तिमा चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्