कुमरखोद, माघ २४ । झापा गाउँपालिकामा चोरको बिगीबिगी बढेको छ ।

एकैरात एकै गाउँका ४ घरमा चोरी भएको हो । तर, सुरक्षा निकाय भने बेखबर छ । चोर र तस्करलाई समात्न सुरक्षा निकाय असफल देखिन्छ । झापा गाउँपालिकामा २ वटा सशस्त्र प्रहरीको बीओपी क्याम्प , एउटा ईलाका प्रहरी कार्यालय र दुईवटा प्रहरी चौकी छन् ।

झापा गाउँपालिका वडा नं १ मा ४ वटा घरमा चोरी भएको ठाउँबाट सशस्त्र प्रहरीको बीओपी क्याम्प टाँघनडुब्बाको दूरी २०० देखि ३०० मिटर टाढा छ । गएराति रामबहादुर कार्कीको पसलबाट वियर र अन्य सामानहरु , निम राजवंशीको घरबाट नगद ५० हजार र आधा तोला सुन , डिल्ली खनालको घरबाट एकथान रेडमी कम्पनीको मोबाईल र बलबहादुर श्रेष्ठको घरबाट मोबाईल चोरी भएको पीडित कार्कीेले जानकारी दिएका छन् ।

यसअघि सोमवार दिउँसो झापा गाउँपालिका वडा नं ३ का प्रवेश फोटो स्टुडियोका संचालक धनबहादुर श्रेष्ठको घरबाट दिउँसो ३–४ बजेको समयमा करिब ८ तोला सुन र नगद २ हजार ५ सय दराजबाट चोरी भएको थियो । श्रेष्ठको भनाई अनुसार छोरा प्रज्ज्वल श्रेष्ठ आफ्नै घरको कोठामा बसिरहेको अबस्थामा चोरले बाहिरबाट कोठामा चुकुल लगाई चोरी गरेको हो । यसैगरी झापा गाउँपालिका वडा नं ४ बस्ने हरि भण्डारीको खेतबाट सिंचाई गर्ने मोटर र पाईप चोरी भएको छ ।

यसैगरी झापा गाउँपालिका वडा नं २ बस्ने दिपक राईको घरबाट आईतवार राति एक बोरा सिमेन्ट र बाल्टिन चोरी भएको छ । उनले आफूहरु घरको दुई तलामाथि सुतिरहेको अवस्थामा चोरले बाहिरबाट चुकुल लगाएर चोरी गरेको बताए ।

त्यसैगरी झापा गाउँपालिका वडा नं २ बस्ने देवनारायण शाह र खड्कबहादुर कार्कीको खेतमा राखेको सिंचाई मोटर चोरी भएको छ । उक्त मोटर भारतको कदुभिट्टा बस्ने चारजना नागरिकले चोरेर भारतीय बजारमा बेचेका थिए । मोटर बेच्ने ती व्यक्तिहरुलाई बिशेष सूचनाको आधारमा वडा नं १ का वडाध्यक्ष राजकुमार यादव , शाह र कार्कीले भारतमा गएर पक्राउ गरेका थिए । पक्राउ परेका चारै जनालाई २ लाख ८० हजार नेपाली रुपैयाँ जरिवाना तिराएको वडाध्यक्ष यादवले बताए । वडाध्यक्ष यादवले भारतीय समाजको रोहवरमा एक पटकलाई चोरहरुलाई माफी दिएको जानकारी दिए ।

त्यसैगरी वडा नं ७ टप्पुमा विगत ३ वर्षदेखि खेती गर्दै आएका भारतीय नागरिक नजरुल हक मियाको १९ गते शुक्रवारका दिन सिंचाई मोटर , पाईप टुक्रा टुक्रा पारेर नष्ट गरिनुका साथै मकैबाली काटेर नष्ट पारेको बताइएको छ ।

झापा गाउँपालिकाको अधिकांश जमिन भारतीय नागरिकहरुलाई मकै खेती गर्नका लागि अधिया ठेक्का दिएका कारण चोरीको घट्ना बढेको किसान खड्कबहादुर कार्की बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्