झापा,माघ २७ । नेपालले वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले शनिबार हङकङलाई ८ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।
कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भएपनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारी गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो । कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाइन् ।

नेपाल विजयभन्दा ७ रनले टाढा भएको समयमा इन्दु आउट भएकी थिइन् । सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १ छक्का पनि प्रहार गरेकी थिइन् । यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभर खेली ८ विकेट गुमाई ९३ रनमात्र बनाउन सकेको थियो ।
क्वालालम्पुरस्थित सेलान्गर टर्फ क्लब मैदानमा रुविना र पुजा महतोले २–२ विकेट लिएपछि हङकङ खुम्चिएको थियो । रुविनाले ४ ओभरमा १५ र पुजाले १९ रन खर्चिन् । कविता जोशी र सीताले १–१ विकेट लिए ।

हङकङबाट कप्तान चान कारीले २१, मार्याम बिबीले १९, यासिम दासवानीले १५ र नताशा मिल्सले ११ रन बनाए । प्रतियोगितामा नेपालको यो पहिलो खेल हो ।१६ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्