झापा,माघ २८ । गोलधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा राप्रपाका हर्कप्रसाद लिङ्देन निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार राप्रपा , कांग्रेस र माओवादी प्यानलका तर्फबाट उम्मेदवारी दिएका लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३८२ मत ल्याउँदा उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टीका ध्रुवकुमार श्रेष्ठले २०० मत पाएका छन् । राप्रपा , कांग्रेसलगायतका दलले गठबन्धन बनाएपछि नेकपा एमालेले उम्मेदवारी नदिई निर्वाचनमा जसपालाई सघाएको थियो । त्यस्तै उपाध्यक्षमा कांग्रेसका भोलानाथ ओली निर्वाचित भएका छन् । उनले ३७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी अभिनारायण नेपालले १५९ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा माओवादीका तुलाराम न्यौपाने विजयी भएका छन् । उनले ३२३ मत ल्याउँदा उनका प्रतिष्पर्धी गीता राईले २३८ मत पाएकी छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा कांग्रेसका प्रदीपराज नेपाल ३७५ , राप्रपाका रत्नबहादुर विश्वकर्मा ३९४ , राप्रपाकै विकास भट्टराई ३९३ र कृष्णप्रसाद सुवेदी ३८० मतसहित विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा कांग्रेसकी तारा आपागाँई ३५१ , कांग्रेसकै टीकामाया सिगु ३५६ , राप्रपाका सुशीला कार्की बस्नेत ३७१ , राप्रपाकै टीकादेवी अधिकारी ३४५ मत ल्याई निर्वाचित भएका छन् ।

गोलधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कुल उपभोक्ता ८२० रहेका छन् । त्यसमध्ये ६३२ मत खसेको थियो । दुई मत बदर भएको छ । यसअघि सचिव र सहसचिव पदमा निर्विरोध भएको थियो । सचिवमा कांग्रेसका कमल कुँवर र सहसचिवमा राप्रपाकी मैयादेवी लामिछाने निर्विरोध भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्