झापा,फागुन १ । झापाको दमक नगरपालिकाले भूमिसम्बन्धी समस्या आगामी दुई वर्षभित्रमा टुङ्गोमा पु¥याएर जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी गरेको छ । दमकका १० वटा वडामा भूमिसम्बन्धी समस्या रहेका परिवारको संख्या छ हजार बढी रहेको छ ।

राष्ट्रिय भूमि आयोग दमक सेवा केन्द्रका अनुसार यहाँ भूमिसम्बन्धी समस्या रहेका यस्ता छ हजार एक सय ६० परिवारको निवेदन आएको छ । सोमध्ये दुई हजार चार सय ५६ भूमिहीन सुकुम्वासी, पाँच सय ५७ भूमिहीन दलित र तीन हजार एक सय ३७ अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क छ । दमकमा पाँच हजार नौ सय ५० परिवारलाई जग्गाको निस्सा भने यसअघि नै वितरण गरिसकेको छ ।

दमकमा भूमिहीन सुकुम्वासी, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य संख्या रहेपनि हालसम्म भने ३४ परिवारले मात्र चालु वर्षमा भूमि स्वामित्व प्राप्त गरेका छन् । राष्ट्रिय भूमि आयोग झापाले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिसकेको भएपनि धनीपुर्जा वितरणको काम भने तीव्र बनाउन सकिरहेको छैन । यही सुस्तताका बाबजुद दमक नगरपालिकाले भने आगामी दुई वर्षभित्रमा लगभग सबै सुकुम्वासीलाई जग्गा धनीपुर्जा दिनसक्ने लक्ष्यका साथ काम गरिरहेको दाबी गरेको छ ।

सोअनुसार दमक वडा नम्बर १० मा जग्गा धनीपुर्जा वितरण प्रयोजनका लागि कर्मचारी तथा प्राविधिक अर्थात् अमिनबाट जग्गा नापजाँच पूरा भएको छ । वडा नम्बर ४ मा अन्तिम चरणमा रहेको छ भने वडा नम्बर १ मा दिनहुँ जसो जग्गा नापजाँच भइरहेको राष्ट्रिय भूमि आयोग दमक सेवा केन्द्रका प्रमुख डम्बरराज बरालले बताए । उनका अनुसार अब चाँडै नै वडा नम्बर ५ र ८ मा जग्गा नापजाँच सुरु हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्