झापा , फागुन २ । पाल्पामा यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीया यम कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिब्दीकोट १ ख्याहाकी ६५ वर्षीया दिलकुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीया दिलमाया जिसी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा पाल्पा तिनाउ ६ की २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ति राना, ९ वर्षीय सौरव पुन, ४५ वर्षीय तुलबहादुर नेपाली, २८ वर्षीया कमला सुनार, रुपन्देही खैरेनी – ५ का ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीय विद्या सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आलब सुनार, तानसेन १० का ४५ वर्षीय जिप चालक दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीय भूमि पुन र १ जना ३६ दिनकी बालिका गरी १७ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।

मंगलबार बेलुका ५ बजेको समयमा जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा ब्याक भई दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त जिप घुम्तीदेखि झण्डै १ सय ५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको उद्धारमा खटिएका स्थानीय दिनेश घिमिरेले बताए ।
जिप ओभरलोडको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्