झापा,फागुन ३ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

ट्राफिक सप्ताह–२०८० अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् स्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले एकसय चारजना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो ।

पूर्वपश्चिम राजमार्गमा सवारीसाधन चलाउने चालक–सहचालकको हेटौँडामा निःशुल्क आँखा परीक्षण गरिएको छ । आँखा परीक्षणका क्रममा ३० प्रतिशतभन्दा बढीमा दृष्टि दोष, आँखा चिलाउने, जलबिन्दु, सुगरले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र सहायक मिलन खत्रीले जानकारी दिए । उनले शिविरमा आवश्यक परामर्श र निःशुल्क औषधी समेत वितरण गरिएको बताए । शिविरमा जाँच गरिएको मध्ये सात जनालाई आँखाको थप उपचारको लागि आँखा अस्पतालमै जान भनिएको छ ।


स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत नवोदित सिलवालका अनुसार ९० प्रतिशत चालक र सह–चालकले सुर्ति र गुड्खाजन्य पदार्थ प्रयोग गर्ने गरेको समस्या पाइएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्