लक्ष्मी उप्रेती,

मेचीनगर, फागुन ६ । झापा जिल्लास्थित आप्रवासी स्रोत केन्द्रमा चालु आर्थिक वर्ष २०८०÷०८१ को ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका विभिन्न प्रकृतिका ३१ वटा उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको १५ नम्बर कोठामा रहेको केन्द्रमा वैदेशिक रोजगारीसम्बन्धी ठगी, फरक काममा लगाईदिने, नेपालमा मेडिकल ठीक भएपनि विदेश पुगेपछि रिपोर्ट खराव भएको भन्दैं फर्काइदिने, पैसा पासपोर्ट लैजाने समयमा नउडाउने अनि पासपोर्ट लगेपनि फिर्ता नगर्नेलगायतका ठगी मुद्धा दर्ता भएको असुरक्षित आप्रवासन (सामी) कार्यक्रममा सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले जानकारी दिए ।

आइतबार झापाको मेचीनगर नगरपालिकाले आफ्नै सभाहलमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारका लागि नगरपालिकाका शाखा अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा बुढाथोकीले सो जानकारी दिएका हुन् । कार्यक्रमको प्रगति विवरण प्रस्तुत गदैं अधिकृत बुढाथोकीले चालु आर्थिक वर्ष २०८०÷०८१ को अद्र्धवार्षिक समीक्षा अनुसार कुल दर्ता भएका केशहरुमध्ये छलफल गर्दा ठगी रकम १४ लाख ३० हजार रुपैयाँ सम्बन्धित पीडितहरुलाई फिर्ता गरिएको बताए । उनले अधिकतम ठगीका घटना मेचीनगर नगरपालिकाका रहेको जानकारी दिए । वैदेशिक रोजगारीमा जानेको संख्या जिल्लाका अन्य पालिकाको तुलनामा मेचीनगर नगरपालिकाको बढी रहेको बताउँदै उनले ठगीका घटना पनि यहि पालिकामा बढी रहेकोसमेत जानकारी दिए ।

यो अवधिमा २ हजार ७ सय ९० महिला र ५ हजार १ सय ९ गरी कुल ७ हजार ८ सय ९९ जनालाई सूचना परामर्श प्रदान गरिएको जानकारी गराईएको थियो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच भएको दुईपक्षीय सम्झौता अनुसार सञ्चालित रहेको छ । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम ३८ वटा जिल्लाका १ सय ५६ वटा स्थानीय तह र कोशी प्रदेशको ८ वटा जिल्लाका ३२ वटा स्थानीय तहमा सञ्चालन भईरहेको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य तथा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतसहित औचित्यमाथि वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीले प्रकाश पारेका थिए ।

सूचनामा पहुँच, सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श, न्यायमा पहुँच तथा वित्तीय साक्षरता सामी कार्यक्रमको मुख्यः क्रियाकलापहरु रहेको बुढाथोकीको प्रस्तुतीकरणमा उल्लेख छ । रिटर्नी स्वयम्सेवकमार्फत घरदैलो कार्यक्रमअन्तर्गत समुदाय स्तरमा कुल १ हजार ९ सय ८१ वटा कोबो दर्ता भएकोमा ५४ जनालाई फलोअप गरिएको, वैदेशिक रोजगारबाट फर्किएका १ सय ३५ , समूहमा सूचना प्रदान १६ तथा घरभेट सूचना प्रदान १ हजार ७ सय ७६ जनालाई गरिएको र हालसम्म सूचना प्रदान गर्ने कार्य जारी रहेको बताईएको छ ।

समुदाय स्तरको कार्यअन्तर्गत समुदाय अभिमुखीकरण कार्यक्रम ४ मध्ये ३ वटा सम्पन्न भएको, गहन अभिमुखीकरण, मनोसामाजिक परामर्शकर्ताद्वारा १९ वटा केशमा मनोसामाजिक सेवा प्रदान गरिएको, जसमध्ये महिला १८ र पुरुष १ जना रहेको बताइएको छ । कार्यक्रममा मुख्यःरुपमा नगरपालिकाका कानुन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि शाखा र रोजगार सेवा केन्द्रले निकै काम गर्न सक्ने स्पष्ट पारिएको थियो । वैदेशिक रोजगारीमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारीमा रहेका कामदार, वैदेशिक रोजगारीबाट फर्केका कामदार तथा वैदेशिक रोजगारीमा रहेका कामदारका परिवार सदस्यहरु सामी कार्यक्रमका लाभान्वित सेवाग्राही हुन् । पहिलो चरणको कार्यक्रमको सञ्चालन फणिन्द्र दाहालले गरेका थिए । नगरको स्वास्थ्य, कृषि, पशु, रोजगार, शिक्षा, महिला तथा बालबालिका , पूर्वाधार तथा न्यायिक समितिलगायत विभिन्न शाखा अधिकृतहरु सहभागी कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्