शनिश्चरे, फागुन ७ । झापाका १५ वटा पालिकाबीच भएको झापा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अर्जुनधारा नगरपालिका फेरि च्याम्पियन बनेको छ ।

अर्जुनधाराको विभिन्न ५ स्थानमा भएको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा नगरपालिका दोस्रो पटक च्याम्पियन बनेको हो । झापा जिल्लास्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि अर्जुनधारा च्याम्पियन बनेको थियो । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र १२ कास्यसहित रनिङ शिल्ड उचालेको हो । अर्जुनधाराले सबैभन्दा बढी एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ३ कास्य, करातेमा ४ स्वर्ण र १ कास्य, तेक्वान्दोमा ३ स्वर्ण, ६ रजत र ३ कास्य पदक पाएको थियो ।

यस्तै, उसुमा १ स्वर्ण, ७ रजत र ४ कास्य र भलिबलमा १ कास्य जित्दै फेरि च्याम्पियन बनेको हो । अर्जुनधारापछि मेचीनगरले दोस्रो स्थान हासिल गरेको छ । उसले ११ स्वर्ण, १२ रजत र १३ कास्य प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको हो । मेचीनगरले सर्वाधिक उसुमा ५ स्वर्ण प्राप्त गर्दा एथलेटिक्समा ४ स्वर्ण, भलिबल र करातेमा १–१ स्वर्ण जित्न सफल बन्यो । यसैगरी, तेस्रो स्थानमा बिर्तामोड नगरपालिका रह्यो । उसले ८ स्वर्ण, ८ रजत र १३ कास्य पदक जित्दै तेस्रो बनेको हो । उसका लागि सर्वाधिक उसुमा ४ स्वर्ण जितेको छ ।

यस्तै, कराते र एथलेटिक्समा २–२ स्वर्ण जितेको हो । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरुमा ४१८ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जिल्लाभरिका १८ वर्षमुनिका छात्रछात्रा गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को अध्यक्षतामा भएको समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका प्रतिनिधिलगायतले विजेताहरुलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्