शिवसताक्षी, फागुन ७ । झापाको शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा चारवटा क्वाटरफाइनल खेल सम्पन्न भएका छन् ।

आजको पहिलो खेलमा शिवसताक्षी नगरपालिका विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर नगरपालिकालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै शिवसताक्षी सेमीमा प्रवश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । भद्रपुरका तर्फबाट जर्सी नं. ७ का उदय शेर्पाले हानेको गोल शिवसताक्षीका गोलरक्षक गणेश अधिकारीले रोकेपछि शिवसताक्षी सेमीमा पुग्न सफल भयो । खेल म्यान अफ दी म्याच शिवसताक्षीका गोलरक्षक गणेश अधिकारी घोषित भए ।

त्यसैगरी आजै भएको दोस्रो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकालाई हराउँदै बिर्तामोड नगरपालिका सेमीफाइनलमा प्रवेश गरेको छ । कनकाई नगरपालिकालाई १–० गोल अन्तरले हराउँदै बिर्तामोड सेमीमा प्रवेश गरेको हो । बिर्तामोडका तर्फबाट दोस्रो हाफमा जर्सी नं. ३ का लिलु सोरेनले गोल गर्न सफल भए । प्रतियोगितामा दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । खेलको म्यान अफ दी म्याच बिर्तामोडका लिलु सोरेन घोषित भए ।

त्यस्तै तेस्रो क्वाटरफाइनल खेलमा गौरीगञ्ज गाउँपालिका विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै गौरीगञ्ज गाउँपालिका सेमीमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा गौरीगञ्जका कप्तान विशाल थापाले लगातार २ गोल गरे । खेलको म्यान अफ दी म्याच गौरीगञ्जका विशाल थापा घोषित भए ।

त्यसैगरी चौथो क्वाटरफाइनल खेलमा कमल गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको छ । बाह्रदशी गाउँपालिकालाई १–० गोल अन्तरले हराउँदै कमल गाउँपालका सेमीमा प्रवेश गरेको हो । कमल गाउँपालिकाले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै जर्सी नं. ७ का दिपेन गिरीले गोल गरेका थिए । उनको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ दी म्याच दिपेन गिरी घोषित भए ।

आज भएका चार खेलमा म्यान अफ दी म्याच घोषित भएका खेलाडीहरुले जनही नगद २ हजारसहित ट्रफी प्राप्त गरेका छन् ।
अन्तरपालिका कर्मचारीहरुको दुईवटा सेमीफाइनल खेल पर्सी ९ गते हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । सेमीफाइनल खेल शिवसताक्षी र बिर्तामोड तथा कमल र गौरीगञ्जबीच हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्