झापा , फागुन ८ । घुर ताप्नेक्रममा जलेर घाइते भएकी बाह्रदशी ५ की एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत माघ २८ गते घुर ताप्नेक्रममा एकल महिला ५६ वर्षीया कमला राजवंशी जलेर घाइते भएकी थिइन् । कम्मरमुनि जलेर घाइते भएकी कमलालाई उपचारका लागि बिर्तामोडको संजिवनी हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज दिउँसो उनको मृत्यु भएको बाह्रदशी ५ का वडाध्यक्ष वीरबहादुर राजवंशीले बताए ।

उनले विपन्न अवस्थाकी ती महिलालाई आर्थिक सहयोग गरेर अस्पतालमा उपचार गरिएपनि बचाउन नसकिएको जानकारी दिए । सामान्य व्यापार गर्दै आएकी ती महिला एक्लै बस्दै आएकी थिइन् ।

त्यस्तै मंगलवार विहान १०ः३० बजेको समयमा बुद्धशान्ति वडा नं.६ चुल्ठे पाखागाउँ बस्ने ५६ वर्षीय सूर्य सुनुवारको घरमा आगलागी भएको छ । सिमेन्ट ढुङ्गाको वाल, काठको खम्बा, टिनको छानो भएको २ कोठे निर्माणाधिन घर र काठको खम्बा टिनको छानो भएको २ कोठे भान्सा घरमा तरकारी पकाउने क्रममा चुल्होबाट अचानक आगलागी भएको हो ।

आगलागीबाट २ वटा घर र घरभित्र राखेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु, महत्वपूर्ण कागजात, घर बनाउन राखेको अन्दाजी २० कि.बी. चिलाउनेको काठ, बजारमा बेच्नको लागि बुनेर तयार गरेको अन्दाजी४० वटा नांलो समेत पूर्ण रुपमा जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्