झापा, फागुन ८ । जग्गादाता डोमालाल राजवंशीको परिवारलाई उपेक्षा गरिएको भन्दै दाता परिवार र राजवंशी समुदायले झापा गोल्डकप र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

झापा गोल्डकपको सचिवालयमा पुगेर उनीहरुले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशीले दिएको जग्गामा करोडौको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अबस्थालाई मनन गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने , डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । दाता परिवारका तर्फबाट डोमालालकी छोरी ८० वर्षीया सम्पत्ति राजवंशी , नातिनी बुहारी ललिता राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , उपाध्यक्ष रुपा राजवंशी , सचिव इन्द्रसिंह राजवंशी , सहसचिव अन्जु राजवंशी , राजवंशी विकास समिति बिर्तामोडका अध्यक्ष सिरतलाल राजवंशी , सचिव बालकृष्ण राजवंशीलगायतले सो ज्ञापनपत्र झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र महासचिव गजेन्द्र पोडेललाई बुझाएका थिए ।

ती मागहरुप्रति आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले डोमालालको शालिक निर्माण गर्नका लागि अर्डर गरिसकेको बताए । उनले आफ्नै कार्यकालमा सो शालिक स्थापना गरिने जानकारी दिए । त्यस्तै गोल्डकपबाट डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएकोमा बचत भएमा त्यसलाई थपेर एक लाखसम्म सहयोग गर्ने आश्वासन दिए । त्यस्तै डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने मागप्रति पनि आफूहरु सकारात्मक रहेको उनको भनाई थियो ।

सोही मागसहितको ज्ञापनपत्र बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पनि बुझाइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए । राजवंशीका अनुसार नगर प्रमुख प्रसाईले ती मागका सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफल गराउने आश्वासन दिएकी छन् । करिव १३ विगाह जग्गा दान दिएका डोमालाल राजवंशीको परिवारको अवस्था अहिले अत्यन्त नाजुक रहेको छ । डोमालाल राजवंशी रंगशालामा यही फागुन १९ देखि छेटौ झापा गोल्डकप हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्