झापा,फागुन ९ । भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स–रे र प्रिन्टर मेशिन हस्तान्तरण गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था भद्रपुरले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) द्वारा प्राप्त एक्स–रे मेशिन र संगम बायो मेडिकल सोल्युशन विराटनगरले प्रदान गरेको प्रिन्टर मेशिन बुधबार एक कार्यक्रमका बीच प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो ।

अस्पतालभित्रै करिब डेढ करोड लागतमा जडान गरिएको एक्स–रे मेशिन सञ्चालन गर्ने सहमति अनुसार १४ बुँदे सम्झौता पत्रमा नेपाल क्षयरोग निवारण संस्था भद्रपुरका सभापति गोपालबहादुर थापा र प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामबाबु खड्काले हस्ताक्षर गरेका छन् ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज)ले समेत हस्ताक्षर गरेका छन् । एक मात्र ठुलो सरकारी अस्पतालमा पछिल्लो समयमा बिरामीको चाप अत्यधिक बढेको र एक्स–रे सेवालाई छिटोछरितो बनाउने उद्देश्यले क्षयरोग निवारण संस्थाको पहलमा दातृसंस्थाहरूले एक्स–रे र प्रिन्टर मेशिन उपलब्ध गराएको संस्थाका सभापति थापाले जानकारी दिए ।

उनले सम्झौता पत्र अनुसार क्षयरोग निवारण संस्था बाट एक्स–रे सेवाका लागि सिफारिस गरिएका अति विपन्न व्यक्ति र क्षयरोगीहरूलाई निःशुल्क सेवा दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले अस्पताललाई प्रदान गरिएको एक्स–रे मेशिनले सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास लिएको बताए । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्