शिवसताक्षी, फागुन ९ । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिका भिड्ने भएका छन् ।

आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडेनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइबे्रकरमा दुवै टिमबाट ३–३ गोल भएपछि खेल सडेनडेथमा धकेलियो । सडेनडेथमा ३–२ गोल अन्तरले विजयी हुँदै गौरीगञ्ज गाउँपालिका फाइनलमा प्रवेश गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको म्यान अफ दी म्याच गौरीगञ्जका जर्सी नं. ५ का खेलाडी लखीराम हेमरम घोषित भए ।

त्यस्तै दोस्रो सेमीफाइनल खेलबाट बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको छ । शिवसताक्षी नगरपालिकालाई टाइब्रेकरमा ४–३ हराउँदै बिर्तामोड फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि गोल हुन सकेन । दुवै टिमको सहमतिमा थप १४ मिनेट खेल खेलिएपनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ दी म्याच बिर्तामोडका जर्सी नं. ९ का सडकलाल राजवंशी घोषित भए । दुवै टिमका म्यान अफ दी म्याच घोषित भएका खेलाडीले नगद २–२ हजारसहित ट्रफी प्राप्त गरे ।

अन्तरपालिका कर्मचारीहरुको फाइनल खेल शुक्रबार १ बजेदेखि हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिताको बिजेता टिमले नगद रु ७० हजार र उप बिजेता टिमले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्