झापा,फागुन १० । राज्यलाई कर तिर्नु जनताको अनिवार्य शर्त हो भने त्यहि कर तिर्ने वातावरणलाई सरल, सहज, छिटो छरितो बनाइदिनु राज्यको दायित्व हो । प्रकृयागत सरलिकरण र बुझाइलाई फराकिलो बनाउन सकिएको खण्डमा करको दायरामा नागरिकको स्वतः सहभागिता रहन्छ ।तर, करदाता व्यवसायीलाई नबुझाइकन , अप्ठयारो पारेर राज्यले कर लिइरहेको गुनासो व्याप्त छ । लामो समयदेखि कर परामर्श सेवा दिँदै आएका बिर्तामोडका सोहनलाल राजवंशी राज्यको त्यही करको नीति मन नपरेर यस पटक बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार बनेका छन् ।

अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट उनी सदस्यको उम्मेदवार बनेका हुन् । २०६५ सालदेखि अडिट र करसम्बन्धी सेवा गर्दै आएका राजवंशी स्थानीय सरकारले लिने गरेको नीति गलत भएको बताउँछन् । ‘स्थानीय सरकारले कर उठाउने आधार पुँजी हुनुपर्छ ’ उनी भन्छन्,‘ तर स्थानीय सरकारले कारोवारको आधारमा कर असुल्ने गरेको छ ।’ केन्द्रीय सरकारले कारोवारको आधारमा कर लिइरहेको अवस्थामा स्थानीय सरकारले पनि त्यसैलाई आधार बनाएर कर असुल्नु गलत भएको उनको भनाई छ ।

त्यस्तै बिर्तामोड नगरपालिकाले लिने गरेको बहाल करप्रति पनि उनको बिमति छ ।फर्म दर्ता गर्दादेखि बहाल कर लिनुपर्नेमा बहाल कर लागू भएदेखि नै नगरपालिकाले कर उठाउनु उचित नभएको उनको बुझाई छ । नगरपालिकाले त्यसमा छुट दिएको जनाइएको छ । त्यस्तै भन्सारको मूल्यांकन प्रणालीको विरोधमा पनि आफ्नो उम्मेदवारी भएको उनी बताउँछन् । व्यवसायीले सामान आयात गर्दा वास्तविक विलिङ नगरी भन्सारले प्रज्ञापनपत्रको विलिङ गर्दा अन्डर विलिङको समस्या आउने गरेको बताउँदै जसबाट व्यवसायीको दुईवटा लेखा प्रणाली रहने गरेको उनले बताए । दुईवटा लेखा प्रणाली हुँदा राजश्व कार्यालयले त्यसैलाई निहुँ पारेर छापा मारेको उदाहरण दिँदै उनले भन्सारको मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन सके कर राम्रो उठ्ने र सबै व्यवसायीहरुको लेखा व्यवस्थित हुने धारणा राखे ।

कर प्रशासन संचालन गर्ने निकायले जनताबाट संकलित कर राजश्व रकम जनताका आधारभूत आवश्यकता र राज्यकै आर्थिक सामाजिक विकास र विकास निर्माणकै निम्ति खर्च हुन्छ भन्ने विषयलाई बुझाउनु आवश्यक छ । आफूले बिर्तामोड उद्योग वाणिज्य संघमा काम गर्ने अवसर पाए लेखा व्यवस्थापनसंग सम्बन्धी तालिम दिने र परामर्श सेवालाई अझ व्यापक बनाउने योजना रहेको उनले सुनाए । गौरीगञ्ज १ महाभाराका पिता जतनलाल राजवंशी र माता नक्कलसरी राजवंशीका एकमात्र छोरा सोहनलालले मन्जुश्री प्राथमिक विद्यालयबाट प्राथमिक तहको शिक्षा लिएका थिए । त्यसपछि त्रिभुवन माध्यमिक विद्यालय पाँचगाछीमा मावि अध्ययन गरेका उनले मेची बहुमुखी क्याम्पसबाट स्नातक गरेका थिए । बिर्तामोडमा शुलभ कर परामर्श सेवा संचालन गरी उनले २०६५ सालदेखि अडिट र कर शिक्षा प्रदान गर्दै आएका छन् । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध राजवंशी कर सहयोगी श्रमिक संगठन झापाका अध्यक्ष हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्