विनोद सापकोटा,
झापा,फागुन १० । निक्षेपकर्ताको लाखौं रकम फिर्ता नगरी हिनामिना गरेका शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनालले उल्टै धम्की दिन थालेका छन् ।

झापा क्षेत्र नं.४ ‘क’ का प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा सुमनले राजनीतिक शक्तिको आँडमा सर्वसाधारणको बचत फिर्ता नगरी उल्टै गालीगलौज र धाकधम्की दिने गरेका हुन् । उन्नति साकोसले ७४३ जना निक्षेपकर्ताको करिव १ करोड ६३ लाख रुपैयाँ फिर्ता गरेको छैन । करिव दुई वर्षदेखि सो सहकारी बन्द रहेको छ । बचत फिर्ताका लागि करिव एक सय सदस्यहरुले शिवसताक्षी नगरपालिकामा उजुरी दिएका छन् । पचासभन्दा बढी पीडित सदस्यहरुले एक्लाएक्लै बचत फिर्ताका लागि शिवसताक्षी नगरपालिकामा उजुरी दिएको सहकारी शाखाका बद्री दाहालले बताए । विष्णुप्रसाद सापकोटाको १ लाख ६१ हजार , देवीमाया सापकोटाको ३० हजार , बेबिसा र बेबिका सापकोटाको ५० हजार , तुलसा सापकोटाको ७ हजार , लीला सापकोटाको ७० हजार ,गोमा सापकोटाको ४० हजार , दिलकुमार तामाङको ३ लाख १५ हजार , मनमाया बस्नेतको ४ लाख ५० हजार ,धनमाया बस्नेतको २ लाख ९५ हजार तालामणि सतारको १ लाख ६३ हजार ७०० ,सुनिता श्रेष्ठको १९ हजार ५५९ , मनकुमार श्रेष्ठको ७ हजार , एनकुमारी लिम्बूको ५ हजारलगायतको रकम सहकारीले फिर्ता नगरेको सदस्यहरुले तथ्यांक उपलव्ध गराएका छन् ।

सहकारीका अध्यक्ष खनालले राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं.४ का सभापति शम्भु ढकाल सुस्केरालाई गालीगलौज गरेका हुन् । फागुन ८ गते मंगलवार बेलुकी खनालले ढकाललाई फोन गरी तथानाम गालीगलौज गरी ‘जे पनि गर्छु ’भन्ने धम्की दिएको रास्वपाका जिल्ला सभापति उमेश खरेलले विज्ञप्ति जारी गरी जनाएका छन् । सभापति खरेलले राजनीतिक शक्तिको आँडमा देखाएको यस्तो गुण्डागर्दी शैली रास्वपालाई सह्य नहुने चेतावनी दिँदै बचतकर्ताको रकम ठगी, गालीगलौज र धम्कीप्रति सार्वजनिक रुपमा क्षमा याचना गरी समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् । उनले पीडितलाई न्याय र अपराधीलाई दण्डित गर्न यथाशिघ्र पीडितबाट जाहेरी लिएर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष खनालले ढकाललाई गालीगलौज गरेको कुराकानीसहितको अडियो रास्वपाले सामाजिक संजालमा सार्वजनिक गरेको छ । उन्नति साकोसको बचत फिर्ता गराउन रास्वपाले ढकालको अगुवाईमा खबरदारी अभियान संचालन गरेको थियो । सोही खबरदारी अभियानअन्तर्गत ढकालले एउटा भिडियो सार्वजनिक गरेका छन् । अध्यक्ष खनालका बुवा प्रदेश सांसद राधाकृष्ण खनालसँगको फोन संवादमा स्थानीयहरु ठगिएको कुरा उनले स्वीकार गरेपनि आफूले समस्या समाधान नगर्ने भनेपछि भिडियो सामग्री सार्वजनिक गर्न बाध्य भएको सभापति खरेलले जनाएका छन् । सहकारी पीडित स्थानीयका अनुसार प्रदेश सांसद खनालले गत वर्षको मंसिर ४ को निर्वाचनमा उम्मेद्वारका रुपमा घरघरमा गई आफूलाई जिताए आफ्नो छोराबाट सिर्जित सहकारीको समस्या समाधान गर्ने बचन दिएका थिए ।

सो सहकारीको संचालक समितिको अध्यक्षमा सुमन खनाल ,उपाध्यक्ष विमला भट्टराई , सदस्य रुद्रप्रसाद सुवेदी , सोमनाथ अधिकारी , विष्णु दंगाल ,गोमा काफ्ले र राजकुमार तिवारी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा सुमन कटुवाल , सदस्यहरुमा भिमा ढकाल र हिमादेवी बाँस्तोला रहेका छन् भने सल्लाहकार समितिको संयोजकमा अग्निप्रसाद सापकोटा तथा सदस्यहरुमा चुडामणि बुढाथोकी , पूर्णबहादुर विष्ट घिमिरे , दुर्गा सम्बाहाम्फे र चन्द्र भण्डारी रहेका छन् । सहकारीका सदस्यहरुले १ करोड ६३ लाख निक्षेप फिर्ता नगरेको बताइरहँदा लेखा समितिका संयोजक कटुवालले करिव ५० लाख निक्षेप फिर्ता गर्न बाँकी रहेको बताएका छन् ।(असावधानीवश यस समाचारमा अर्काको फोटो पर्न गएकोमा क्षमा याचनासहित सच्याइएको छ ।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्