झापा, फागुन १० । नेशनल लघुवित्त वित्तीय संस्था शिवगञ्ज शाखाका कर्मचारी पिटिएका छन्।

शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को शिवगञ्ज बजारमा रहेको सो शाखाका कर्मचारीलाई राष्ट्र राष्ट्रियता र नागरिक बचाउ अभियानको अभियन्ता ठान्ने एक महिलाले पिटेकी हुन् । सो वित्तीय संस्थाले स्थानीय इलाका प्रहरी कार्यालय शिवगञ्जमा आफ्नो कर्मचारी पिटिएको भन्दै कारबाहीका लागि उजुरी दिएको छ । संस्थाका फिल्ड सहयोगी मुकेशकुमार गनगाईमाथि हातपात भएको प्रहरीले जनाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ४ की सुनिता ताजपुरियाले गनगाईमाथि थप्पड हानेकी हुन् ।दिउँसो २ बजेतिर राष्ट्र राष्ट्रियता र नागरिक बचाउ अभियानको नाम दिएर शिवगञ्जमा रहेका करिब १० वटा सहकारीमा सो समूह पुगेको थियो ।
कुटाइ खाने गनगाई केही दिनअघि मात्र त्यस कार्यालयमा सरुवा भएर आएका थिए। करिब २५–३० जनाको हुलमा शिवगञ्ज बजारका सहकारी संस्थाहरूमा पुगेको सो समूहले नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यालयका कर्मचारीलाई पिटेको भिडियो यतिबेला भाइरल छ । भिडियोमा सो सहकारी संस्थाका कर्मचारीमाथि गालीगलौज गरिएको छ । २०–२५ वर्षदेखि ६०–७० वर्षसम्मका मानिसको सो समूह सहकारीमा पसेको भिडियोमा देखिन्छ । उनीहरूले अमर्यादित शैलीमा कर्मचारीमाथि गालीगलौज गरेको भिडियोमा सुनिन्छ।

सहारा साकोस, कर्णाली साकोस, जीवन विकास लघुवित्त संस्था, नेशनल लघुवित्त वित्तीय संस्था, नवोदयलगायतका सहकारी तथा वित्तीय संस्थामा सो समूह पुगेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्