झापा,फागुन ११ । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले बिर्तामोडलाई औद्योगिक तथा व्यावसायिक हबका रुपमा विकास गर्ने योजना अघि सारेका छन् ।

जसका लागि बिर्तामोडको औद्योगिक तथा व्यावसायिक क्षेत्रको रोडम्याप तयार गरी सम्बन्धित निकायहरुसंग समन्वय गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

बिर्तामोड औद्योगिक करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउन आफू लागिपरेको बताएका न्यौपानेले बिर्तामोडका व्यवसायीमाथि लादिएको अनियन्त्रित कर बृद्धि तथा दोहोरो करको समस्या समाधान गरिने बताए । उनले बिर्तामोड बजार क्षेत्रमा देखिएको पार्किङको समस्या दीर्घकालिन रुपमा समाधानका लागि पहल गर्ने र बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि व्यवस्थित भौतिक संरचना निर्माण गर्दै फोहोर ब्यवस्थापनका लागि समेत जोड दिने बताएका छन् ।

बिर्तामोड बजारका दिनानुदिन बढ्दै गएकाले रात्रिकालीन बजार सञ्चालनमा ल्याउन जोड दिँदै त्यसका लागि आबश्यक सुरक्षा व्यवस्था मिलाउन पहल गर्ने र रात्रिकालीन बजारलाई आकर्षक बनाउन स्टेट फुड स्टलहरुको व्यवस्थापनमा जुट्ने उनको भनाई छ ।

फागुन १४ गते हुने निर्वाचनका लागि आम उद्योगी व्यवसायीहरुमाझ घरदैलो कार्यक्रममा रहेका उनले आफू अध्यक्षमा निर्वाचित भएसंगै व्यवसाय सञ्चालनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण विकास गर्दै बिर्तामोड उद्योग वाणिज्य संघलाई पेपरलेस कार्यालयको रुपमा समेत विकास गरेर लाने बताउँदै आएका छन् ।

लोकतान्त्रिक व्यावसायिक समूहको नेतृत्व गर्दै अध्यक्ष पदका लागि साझा उम्मेद्वार बनेका न्यौपानेले आफूसंगै आफ्नो सिंगो समूहलाई मतदान गर्दै विजयी गराउन आम उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्