झापा,फागुन ११ । प्रकृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रामा निस्किएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले तीन दिनमा १ सय किलोमिटरभन्दा बढी पैदलयात्रा सकेको छ । जंगल तथा आसपासका हात्ती प्रभावित क्षेत्रका बासिन्दासँग साक्षात्कारसहित पर्यटकीय प्रवर्धनका लागि स्थलगत रुपमा अध्ययन समेत गर्ने गरी सरोकारवाला मन्त्री र प्रदेशका सुरक्षा प्रमुखसहित बिहीबारदेखि कार्की पैदलयात्रामा निस्किएका हुन् ।

नेपाल भारतसीमा मेचीनगर नगरपालिका वडा नम्बर ४ बाट यात्रा सुरु गरेका कार्की शुक्रबार अपरान्ह झापा र इलामका विभिन्न पालिका हुँदै दमकबाट मोरङ प्रवेश गरेको छन् । झापा र इलामका विभिन्न सामुदायिक वन क्षेत्र हुँदै कार्की दमक पुगेका छन् । पदयात्राका क्रममा घर घरमै पुगेर नागरिकसँग कार्कीले संवाद गरेका छन् । जङ्गली जनावरका कारण पीडा भोगेका जनताका कुरा सुन्न, छलफल गर्न र समाधानको बाटो खोज्न यो यात्रा गरिएको कार्कीले बताए ।

‘जीव, जनवार, जल, जङ्गल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ मुख्य नारासहितको पैदलयात्रापछि कोशी प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिसँग बसेर जनताका समस्याका विषयमा तयार पारिएको प्रतिवेदनसहित तत्काल र दीर्घकालीन रूपमा के गर्न सकिने योजना बनाएर काम गर्ने उदेश्य रहेको कार्कीको भनाइ छ । ‘‘नजिकबाट जनताका कुरा सुन्ने अवसरको रुपमा यसलाई लिएका छौं’’, उनले भने ।

कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातवरण मन्त्रालयको आयोजनामा भएको पैदलयात्रामा हात्ती तथा जङ्गली जनावरका जानकार, वनजङ्गलसँग सम्बन्धित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसमेत सँगसँगै रहेका छन् । भारतबाट दिनहुँ आउने गरेका जङ्गली हात्तीका कारण पूर्वी नेपालमा त्रास सिर्जना हुँदै आएको छ ।

केही समय यता भारतबाट बाहुण्डाँगी नाँका हुँदै झापा र इलाम जिल्लाका विभिन्न पालिका, मोरङ, सुनसरी र उदयपुरसम्म हात्ती आउजाउ हुन थालेपछि हात्तीको समस्या सामधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई स्थानीय हात्ती पीडित जनताले माग गर्दै आएका छन् । समस्यालाई नजिकबाट बुझ्न र समस्या समाधानका लागि आवश्यक कार्यक्रम बनाउनका लागि मुख्यमन्त्री कार्कीले झापादेखि उदयपुरसम्म २४३ किलोमिटर पैदल यात्रा गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्