झापा,फागुन १२ । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ ।

यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको संख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी भएका छन् । सोही अवधिमा चार हजार ७०५ जना नेपाली श्रमिक कोरिया गएका छन् ।

दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ । इपिएस प्रणालीबाट १६ वटा देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले यस अन्तर्गत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ । इपिएसमार्फत आवेदन दिएका सबै आवेदकको भाषा परीक्षा कोरियाली प्रतिनिधिको सहभागितामा हुने गरेको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार र चालु आव २०८०÷८१ पहिलो सात महिनामा लगभग नौ हजार नेपाली इपिएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।

इपिएस कोरिया शाखाका अनुसार डेढ दशकको अवधिमा एक लाख पाँच हजार ९७३ नेपालीले दक्षिण कोरियामा रोजगारी पाएका छन् । जसमा ९६ हजार ७०५ पुरुष र नौ हजार २६८ महिला छन् । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत नेपाली श्रमिकलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको हो ।

सन् २००८ देखि २०२३ सम्म सञ्चालित भाषा परीक्षामा झन्डै आठ लाख २८ हजार ६२६ युवाले सहभागिता जनाएका थिए । सन् २००७ मा नेपाल र दक्षिण कोरियाबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने विषयमा जिटुजी सम्झौता सम्पन्न भएलगत्तै सन् २००८ देखि नै कोरियाले कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको हो । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।

कोरिया सरकारले बर्सेनि नेपाली श्रमिकको कोटा बढाउँदै आएको छ । कोरिया सरकारले इपिएसमार्फत सन् २०२३ देखि नेपालबाट प्रत्येक महिना लगभग दुई हजारका दरले नेपाली श्रमिक लैजाने सङ्केत गरेको छ । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको इपिएस शाखाका निर्देशक मैयाँ कँडेलको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्