झापा, फागुन १३ । झापाको बुद्धशान्तिमा सञ्चालित प्रथम अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले हात पारेको छ ।

शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा कचनकवल गाउँपालिकालाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै बिर्तामोड नगरपालिकाले उपाधि जितेको हो ।

टस जितेर पहिले व्याटिङ रोजेको बिर्तामोडले ८ विकेट गुमाएर १९७ रनको लक्ष्य कचनकवललाई दिएको थियो । त्यस लक्ष्य लिएर मैदान उत्रिएको कचनकवलले १३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र ७७ रन मात्र जोड्न सक्यो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताको विजेता बिर्तामोडले नगद एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कचनकवलले नगद पचास हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताको बेस्ट विकेट किप्पर कनकाई नगरपालिकाका प्रनिश विमली घोषित भए । त्यस्तै बुद्धशान्तिका रिजन आङदेम्बे बेस्ट फिल्डर, बिर्तामोडका दिपु भुजेल इमर्जिङ प्लेयर, बिर्तामोडकै रोहित राजवंशी बेस्ट बलर, बिर्तामोडकै शिवांस बजगाईं बेस्ट ब्याट्सम्यान घोषित भए । उनीहरूले पाँच–पाँच हजार नगद पुरस्कार पाए ।

कचनकवलका कप्तान अनिल लामिछाने म्यान अफ द सिरिज घोषित भए । उनले १० हजार नगद पुरस्कार पाए । झापा गाउँपालिकाको टिमले फेयर प्लेको उपाधि हात पार्यो । बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, क्रिकेट संघका पदाधिकारीलगायतले पुरस्कार बितरण गरेका थिए ।
गत फागुन २ गतेबाट शुरु भएको प्रतियोगितामा झापाका १५ वटै पालिकाहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्