बिर्तामोड , फागुन १३ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट महासचिवका उम्मेदवार कृष्ण पौडेलले बन्द भएका बिर्तामोडका सटरहरु खुलाउन आफ्नो पहल रहने बताएका छन् ।

एकपछि अर्को गर्दै बिर्तामोडका पसलहरु बन्द हुँदै गइरहेपनि, व्यवसायीहरु पलायन हुँदै गएपनि बिर्तामोड उद्योग वाणिज्य संघले कुनै पहल नगरेको उनको बुझाई छ । बिर्तामोडका करिव ३० प्रतिशत सटर बन्द छन् । त्यस्तै कतिपय व्यवसायीहरुले भाडा तिर्न नसकेर पसलमा ताला लगाएर राखेका छन् । ‘के कारणले गर्दा सटरहरु धमाधम बन्द भइरहेका छन् ? किन व्यवसायीहरु विस्थापित बन्दै गइरहेका छन् त ?’ उनले प्रश्न गर्दै भने ,‘त्यसका कारणहरु कसले खोज्यो ?’ व्यवसायीका अप्ठ्यारा पहिचान गरी सामूहिक छलफलमार्फत समाधान खोज्न आफ्नो पहल रहने उनको भनाई छ ।

त्यस्तै सहकारीहरुको ऋण तिर्न व्यवसायीहरुलाई भइरहेको असजिलोलाई सहजीकरण गर्नेतर्फ पनि आफ्नो पहल रहने उनले प्रतिवद्धता जनाए । निर्वाचनको अघिल्लो दिन पत्रकारहरुसंग कुराकानी गर्दै झापा जिल्ला सहकारी संघमा समेत रहेका पौडेलले ऋण तिर्न अप्ठ्यारो भइरहेका व्यवसायी , ऋण दिने सहकारी र वाणिज्य संघबीच छलफल गराएर समस्या समाधान गर्ने उनको योजना छ । व्यवसाय गर्न र ऋण तिर्न नसक्ने व्यवसायीका लागि सहकारीबाट थप लगानीको व्यवस्था गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्