झापा,फागुन १५ । नेपालमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । क्यान्सर रोगका कारण प्रत्येक दिन ४० जना नेपालीको मृत्यु हुने गरेको छ । यसमध्ये दैनिक १२ देखि १४ जना खानपानकै कारण क्यान्सर भएर मृत्यु हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए ।

विभिन्न प्रकारका रङ प्रयोग गरिएका खानेकुरा, पोलेको, तारेको, भुटेको परिकारका कारण पनि क्यान्सर हुन सक्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्यका लागि घातक हुने रङ प्रयोग गरिएको भन्दै पछिल्लो समय कटन क्यान्डी उत्पादन, बिक्री वितरणमा विभिन्न क्षेत्र तथा पालिकामा रोक लगाइएको छ । खासगरी बालबालिकाले रुचाउने कटन क्यान्डी विभिन्न सार्वजनिक स्थल, सडक पेटी, बजार, मेला लगायतका स्थानमा खुला रूपमा बिक्री वितरण हुने गर्दछ । कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रङ ‘रोडा माइन बी’ को प्रयोग हुने गर्दछ, जो स्वास्थ्यका लागि निकै घातक हुने विज्ञ बताउँछन् ।

कटन क्यान्डीजस्तै विभिन्न मिठाइमा पनि अखाद्य रङ प्रयोग भइरहेको खाद्य स्वच्छता विशेषज्ञ निर्भिक श्रेष्ठले बताए । ‘यस्ता अखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती छन्,’ उनले भने, ‘होटलका खाने कुरा र मिठाइमा यस्ता अखाद्य रङ प्रयोग गरिन्छ तर नियमन र अनुगमन हुन सकेको छैन ।’ श्रेष्ठले अखाद्य रङ प्रयोग गरी तयार गरिएको वस्तुको उपभोगले तत्काल समस्या नदेखिए पनि दीर्घकालीन रूपमा क्यान्सरसमेत गराउने उल्लेख गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्