झापा, फागुन १५। कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मंगलवार बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबारी सदस्यलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा उत्कृष्ट सदस्य सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम गरिएको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा संस्थामा बचत तथा ऋणको नियमित कारोबार गरी उत्कृष्ट ठहरिएका १४ जना सदस्यहरुलाई कार्यक्रम माझ संरक्षित पुँजी फिर्ता कोषको रकम हस्तान्तरण गरिएको हो ।

संस्थाले गत आर्थिक वर्षको कारोबारमा १ करोड ४६ लाख रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषमार्फत् सदस्यहरुलाई वितरण गरेको छ । तीमध्ये २० हजार रुपैयाँभन्दा धेरै रकम पाउने १४ जनालाई विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो । संस्थाले विगत तीन वर्षदेखि लगातार यस्ता उत्कृष्ट सदस्यहरुलाई कार्यक्रम नै गरेर संरक्षित पुँजी फिर्ता गर्दै आएको छ ।

यसैगरी संस्थाले आफ्नो कार्यक्षेत्रका ५२ जना विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप सात हजार ८०० रुपैयाँका दरले नगद हस्तान्तरण गरेको छ । कर्णाली साकोसले हरेक वर्ष १०० जना विद्यार्थीमाझ ५ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यो वर्ष ६४ जना विद्यार्थीहरुले आफू उत्कृष्ट भएको दावी गर्दै संस्थामा निवेदन दिएका थिए । सोही कार्यक्रमअन्तर्गत संस्थाका शेयरधनी परिवारबाट कक्षा १२ उत्तीर्ण गर्दा उत्कृष्ट अंक प्राप्त गर्ने ती विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार दिएको हो ।

कर्णाली साकोसका वित्त विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले सञ्चालन गरेको सो विशेष कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सहकारी ऐन २०७४ को प्रावधान अनुसार ऋणी सदस्यको नियमित एवम् उत्कृष्ट कारोबार र बचतकर्ताले बचत गरेको रकमबाट पाकेको ब्याजको अनुपातमा यो वर्ष १ करोड ४६ लाख रुपैयाँ संरक्षित पुँजी फिर्ता गरिएको बताए ।

सहकारीको यो सुन्दर पक्ष हो भन्दै अध्यक्ष श्रेष्ठले सरकारले ऋण मिनाहा गरिदिन्छ भन्ने भ्रममा नपर्न सुझाव दिए । ‘कर्जा नतिर भन्दै हिँड्नेहरु वित्तीय संस्थाहरुको कालोसूचीमा रहेको’ सुनाउँदै अध्यक्ष श्रेष्ठले ‘उनीहरु आफूमात्र होइन परिवार र सन्ततिलाई धोका दिइरहेको’ बताए । उनले बजार हल्लाको पछि नलाग्न सुझाव दिँदै सहकारीमा सदस्यकै बचत रकम थोरै ऋणीले चलाउने भएकाले ऋणीलाई साँवा ब्याज तिर्दिन भन्ने छुट नहुने उनले प्रष्ट पारेका थिए ।
‘सहकारीमा गरिने वित्तीय कारोबार पारदर्शी हुनुपर्छ। यसको कारोबार तपाईं सदस्यहरुले कार्यालयमा आएर परीक्षण गर्न सक्नुहुनेछ’ भन्दै अध्यक्ष श्रेष्ठले थपे, ‘जुन संस्थाका सदस्यहरूले जागरुकता देखाउँछन्, त्यो संस्था सबल रहने’ पनि प्रष्ट पारेका थिए ।
अध्यक्ष श्रेष्ठले कर्जा लिएका सदस्यहरुलाई लक्षित गर्दै भने अहिलेको समयमा साँवा ब्याज नियमित तिर्न सकिरहेको छैन भने ‘आउनोस्, समस्याहरु संस्थासँग सेयर गर्नुहोस्, निकास निकाल्न सकिन्छ’ भन्ने ढाडस पनि दिलाए ।

संस्थाका सञ्चालक समिति सदस्य गुञ्जन थापाले कार्यक्रममा आमन्त्रित उत्कृष्ट शेयर सदस्यहरु एवम् उत्कृष्ट विद्यार्थीहरुलाई स्वागत गर्दै विगतमा एलएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने प्रचलनलाई परिमार्जन गरी हाल कक्षा १२ उत्तीर्णलाई पुरस्कृत गर्न थालिएको बताए । कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर स्नातक अध्ययनरत विद्यार्थीलाई उत्कृष्टताको आधारमा पुरस्कार गर्ने गरिएको उनको भनाई छ ।सो कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका कोषाध्यक्ष एकराज बिष्ट आर्थिक मन्दीको असर देशभर परेकोले सहकारीमा पनि कारोबार घटेको बताए । ‘गत वर्ष तरलता संकुचन थियो अहिले ऋणको गुणस्तर पनि घटेको छ’ कोषाध्यक्ष विष्टले भने ‘तर पनि कर्णाली साकोसले बचतकर्ताको रकम सुरक्षित गरिरहेको छ, मागेको समयमा दिन सक्नेगरी तरलता व्यवस्थापन गर्न सकिएको छ।’

कर्णाली साकोसले सञ्चालन गरेको विशेष उपचार कोषको सदस्य बन्न उपस्थित शेयर सदस्यहरुलाई आग्रह गर्दै सो कोषको विशेषताबारे पनि कोषाध्यक्ष विष्टले जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्