विरु दर्नाल,
झापा,फागुन १६ । धेरै नबोल्ने , सानादेखि ठूलासम्म सबैसँग मुसुक्क मुस्काएर अभिवादन गर्ने , आवश्यक परेका बेला जस्तोसुकै अवस्थामा पनि सतिसालझैं उभिने राजु न्यौपानेको विशेषता हो ।

अझ भनौंं , जस्तै दुःखमा नआतिने र सुखमा नमातिने एक शालिन युवा हुन् राजु । राजुले आज सम्पन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा एमालेसहितको पाँचदलीय गठबन्धनलाई पराजित गर्दै अध्यक्ष पदमा ७ सय ५ को मतान्तरले जित्दै रेकर्ड बनाएका छन् । अघिल्लो चुनावमा उनी वरिष्ठ उपाध्यक्षमा ५ सय २४ को मतान्तरले बिजयी बनेका थिए । ०५१–०५२ सालताका सम्पन्न स्वतन्त्र विद्यार्थीको चुनावमा उनी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीको तर्फबाट कनकाई क्याम्पसमा सभापतिको उम्मेद्वार थिए । भर्खरै बहुदल आएको र राप्रपाको जनाधार त के एउटा मान्छे भेटिनसमेत गाह्रो थियो त्यो बेला पार्टीलाई । त्यस्तो प्रतिकुल समयमा पनि सभापति जिते राजुले ।देशभरि अखिल र नेविसंघले क्याम्पस कब्जा गरेका बेला राप्रपाको विद्यार्थी संगठन राप्रविसंघले नेपालभरिबाट एक मात्र सभापति जितेर रेकर्ड बनायो । त्यसका एक मात्र नायक थिए उनै राजु न्यौपाने । एक मात्र सभापतिमा जितेको खुशीयालीमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय सभागृहमा भव्य अभिनन्दन गरेका थिए राजुलाई त्यो बेला ।

बिर्तामोडमै जन्मेका महेन्द्र रत्न मावि अनारमनीका पूर्व विद्यार्थी उनी बिर्तामोडका हुनेखाने न्यौपाने परिवारका कान्छा छोरा हुन् । जेठा अजय , माइला कराते खेलका झापाका अग्रज खेलाडी बिजय न्यौपाने , साइला चलचित्र निर्माता संजय न्यौपानेका कान्छा भाइ राजु हुन् । उनका स्वर्गीय पिता शिवलाल न्यौपाने तत्कालीन अनारमनी गाउँ पंचायत वडा नं २ का निर्वाचित वडा अध्यक्ष थिए । ठूलो महत्वकांक्षा नराख्ने, सबै ब्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने उनको स्वभावकै कारण सदस्य पद हुँदै यसपाली अध्यक्षमा शानदार रेकर्ड ब्रेकिङ गर्दै जित हासिल गरे । यो उनको लोकप्रियताको पहिचान हो । पछिल्लो समय पारिवारिक उल्झनका बावजुद पनि कुनै जिम्मेवारीमा फितलो नदेखिएका राजुको दर्विलो आत्मविश्वास अनि समाज , पार्टी नेतृत्वसँगको समन्वयले नै उनलाई यो सफलता दिएको हो भन्छन् उनका सहयात्रीहरु ।

बहुमत टिमसहित बिजय हासिल गरेका उनले अब आम ब्यवसायीको हितको लागि सबैलाई समेटेर अघि बढ्नु पर्छ । दुईवटै समूहको मन र मत जितेर अघि बढ्ने जिम्मेवारी मिलेको राजुलाई त्यति सजिलो भने पक्कै छैन । फेरि पनि उनको स्वभावका कारण सबैलाई समेटेर कार्यकाल सफल बनाउंनेमा अग्रज ब्यवसायीहरु विश्वस्त रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्