झापा,फागुन १३ । मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

मङ्गलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर सख्त घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको भण्डारीले जानकारी दिइन् । मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्