झापा,फागुन १७ । विभिन्न अपराध गरेर अदालतले दोषी ठहर गरेका प्रतिवादीहरू मोरङमा ठूलो संख्यामा फरार रहेको पाइएको छ । अपराध गरेर फरार सूचीमा मोरङमा ३ हजार ६ सय ४ जना छन् ।
अपराधमा संलग्न भएवापत अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार बनेका ठूलो संख्याका प्रतिवादी पक्राउ पर्न बाँकी देखिएको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ चलाएर प्रतिवादीलाई पक्राउ गर्न विशेष टोली परिचालन गर्ने बताएका छन् ।
फरार सूचीमा रहने विभिन्न मुद्दामा अभियुक्तहरु रहेका छन् । प्रहरीले विशेष अभियान चलाएसँगै प्रतिवादी पक्राउ पर्न थालेका छन् । ‘प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं’ एसपी कार्कीले भने, ‘विगतमा भएका अपराधमा संलग्न फरार पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
प्रहरीले फरार पक्राउ गर्ने अभियान चलाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले एकैदिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्