झापा, फागुन १८ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा आज बिहान ठूलो दुर्घटना भएको छ। प्रहरीका अनुसार टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान ६.३० बजेतिर भयानक दुर्घटना भएको हो। दुर्घटनामा परी झापाका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा कमल गाउँपालिका २ बस्ने बर्ष ५२ का यदुकान्त भट्टराई , कमल गाउँपालिकाकै वडा नं ४ बस्ने बर्ष ४४ की दिपा खनाल र बोलेरो चालक बिर्तामोड २ बस्ने बर्ष ३६ का कृष्ण गजुरेल रहेका छन् । भट्टराईलाई अस्पताल बिराटनगर पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।त्यस्तै खनाललाई पनि कोशी अस्पताल बिराटनगर पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए भने बोलेरो चालक गजुरेलको न्युरो अस्पताल बिराटनगरमा उपचारमा क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

त्यस्तै कमल गाउँपालिका बस्ने बर्ष ४८ की गायत्री भट्टराई र वडा नं ४ बस्ने बर्ष ४६ का हरि खनालको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । गायत्रीको हात खुट्टामा चोट लागेको छ भने हरिको हात खुट्टा र टाउकोमा चोट लागेको छ । उनको अबस्था गम्भीर रहेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । मृत्यु र घाइते हुनेहरु बोलेरोमा सवार थिए ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै जाँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो ।बोलेरो बसको पछिपछि जाँदै थियो।

दुर्घटनापछि टिपर चालक मोरङ सुन्दरहरैचा ७ बस्ने बर्ष २३ का चन्द्रबहादुर बिक,बस र बस चालक सुन्दरहरैचा १२ बस्ने बर्ष ४५ का छत्रकुमार मास्केलाई नियन्त्रणमा लिई ईप्रका बेलबारीमा ल्याई राखेको र टिपर र बोलेरो घटनास्थलमा रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्