झापा,फागुन १९ । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् ।
बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै टोलोन्यूजले भारी हिम वर्षाका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग दस हजार जनावरहरू मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भने, ’व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकोले स्थानीयहरू निकै चिन्तित बनेका छन् ।’
अर्का बासिन्दा अमानुल्लाहले विशेषगरी सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावित भएकाहरूका लागि तत्काल सरकारी सहयोगका लागि याचना गरे।
अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेष गरी पशुधन मालिकहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ । अधिकारीहरूले बाल्ख, जाज्जान, बडगिस, फरयाब र हेरात प्रान्तका पशुधनीहरूलाई राहत सहयोगका लागि पाँच करोड रकम बिनियोजन गरेको छ ।
कृषि, सिँचाइ तथा पशुपन्छी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताए। अवरुद्ध सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकालाई उद्धार गर्न यी समितिहरू सक्रिय रूपमा लागिपरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्