झापा,फागुन १९ । संयुक्त अरब ईमिरेट्स (यूएई) मा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त प्रतिबन्ध फुकुवा गरेर घरेलु कामदार पठाउने तयारी गरेको हो ।
त्यसका लागि दुवै देशका अधिकारी बिचको छलफल अन्तिम चरणमा पुगेको छ । केही दिनमै यूएईमा घरेलु कामदारका रूपमा नेपालीलाई पठाउन थालिने श्रम मन्त्रालयका प्रवक्ता राजीव पोख्ररेलले बताए ।
यूएईसँग सन् २०१९ मा घरेलु कामदार पठाउने सम्बन्धी सहमति भए पनि नेपालले हालसम्म पठाउन सकेको छैन । यूएईले घरेलु कामदार पठाउन नेपाललाई बारम्बार ताकेता गर्दै आएको थियो ।
नेपालमा २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाको थियो । संसदले नै सरकारलाई घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो । सोही आधारमा सरकारले घरेलु कामदारको रूपमा श्रमिक पठाउन रोक लगाएको थियो ।
यो बिचमा संसदीय समितिले कामदारको सुरक्षा प्रत्याभूति हुने गरी सम्झौता गरेर घरेलु कामदार पठाउन सकिने व्यवस्था गरेको थियो । सोही आधारमा जोर्डन, साईप्रस लगायतका देशमा सम्झौता गरेर घरेलु कामदार पठाउने गरिएको छ ।
सन् २०१९ मा यूएईसँग गरेको समझदारी भने बल्ल कार्यान्वयनको चरणमा आइपुगेको हो । केही समय अगाडि यूएईको अवुधावीमा ‘अवुधावी डायलग’ आयोजना भएको थियो । उक्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसहितका नेपाली अधिकारी र यूएईका अधिकारीहरूबिच ‘साइडलाइन मिटिङ’ भएको थियो । उक्त बैठकमा यूएईले घरेलु कामदार पठाउने विषयलाई प्राथमिकताका साथ उठाएको थियो । श्रमिकको सुरक्षा ग्यारेन्टीदेखि सिप सिकाउनेसम्ममा प्रतिबद्धता यूएईले जनाउँदै आएको प्रवक्ता पोखरेलले बताए ।
नेपालले घरेलु कामदार पठाउने विषयमा विभिन्न सर्तहरू अघि सारेको छ । नेपालले कामदारको सुरक्षा ग्यारेन्टी, बेसिक सेलरी लगायतका विषयमा प्रतिबद्धता मागेकोमा यूएई सरकार सहमत देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्