बिर्तामोड,फागुन १९ । सातजना घाइते हुनेगरी झापाको मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच भएको झडपका घटनाबारे छानबिन थालिएको छ ।

सशस्त्र प्रहरीले आन्तरिक रुपमा त्यस घटनाबारे छानबिन शुरु गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । ‘हामीले आन्तरिक रुपमा छानबिन शुरु गरेका छौं’ उनले भने । सशस्त्र प्रहरी उपरीक्षक राई नेतृत्वको टोलीले घाइतेहरु उपचाररत बीएण्डसी र बिर्तासिटी हस्पिटल पुगेर उनीहरुको अबस्थाबारे जानकारी लिएको थियो । त्यस्तै मेचीनगर नगरपालिकाकी नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतका जनप्रतिनिधिहरुले पनि ती अस्पतालमा पुगेर घाइतेहरुको बारेमा जानकारी लिएका छन् । सशस्त्र प्रहरीको आन्तरिक छानबिनसंगै जिल्ला सुरक्षा समितिको बैठक बसेर छानबिन समिति गठन गर्ने जनाइएको छ ।

घाइते स्थानीयहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पताल र सशस्त्र प्रहरीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा १८ बर्षीय दिपक चौधरी, २४ बर्षीया दिपा सरदार, ३५ बर्षीय हरि चौधरी, १७ बर्षीय बिशेषसिंह राजवंशी, १८ बर्षीय मिलन चापागाई, २२ बर्षीय आनन्द यादव रहेका छन् । उनीहरु सबै मेचीनगर ७ गैरीगाउँ निवासी हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यता सशस्त्र प्रहरी बल नेपाल बीओपी सतिघट्टामा कार्यरत गाडी चालक सशस्त्र प्रहरी सहायक हवल्दार ३५ बर्षीय दुर्गाचन्द्र बस्नेत घाइते भएका छन् । उनको बाँया हातको औँलामा चोट लागेको छ ।

अवैध रुपमा भारतीय सामान नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरीले स्थानीयको सामान पक्राउ गरेपछि सशस्त्र प्रहरीमाथि स्थानीयले हमला गरेको र आत्मरक्षाको क्रममा घटना भएको सशस्त्र प्रहरी उपरीक्षक राईले बताए । ‘सशस्त्रले सामान बरामद गरेर गाडीमा ल्याउने क्रममा स्थानीयले गाडीमाथि नै आक्रमण गरे,’ उनले भने, ‘थोरै संख्यामा गाडीमा भएका सशस्त्रमाथि ५०–६० जनाको आक्रमण भयो , उनीहरुले मुश्किलले ज्यान बचाए ।’

सशस्त्र प्रहरी निरीक्षक गणेश श्रेष्ठ नेतृत्वको टोलीले अवैध रुपमा ल्याउँदै गरेको १ लाख २० हजार मूल्यको कपडा बरामद गरेको थियो । सो क्रममा सामान्य विवाद भएपछि बीओपी सतिघट्टाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमालको मोबाइल टोली गएर सो बरामद सामान ल्याउने क्रममा स्थानीय र तस्करले घरेलु हातहतियारसहित प्रहरीमाथि सांघातिक आक्रमण गरेको प्रहरीले दावी गरेको छ । आक्रमणको क्रममा प्रहरीको गाडीमा समेत क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्