झापा,फागुन २१ । महाशिवरात्रीका दिन भद्रपुरमा पहिलो पटक महाआरती हुने भएको छ । भद्रपुर नगरपालिका–९ स्थित श्रीरामेश्वर शिवपाञ्चायन मन्दिर समावेशी धाममा फागुन २५ गते साँझ ६ बजे महाआरती गर्न लागिएको हो । धाम निर्माण तथा व्यवस्थापनको आयोजना तथा जमदारचोक युवा परिवारको सहआयोजनामा महाशिवरात्री सांगीतिक भजन साँझ तथा महाआरती गर्न लागेको बारेमा सोमबार पत्रकार सम्मेलन गरि जनाइएको छ । पशुपतिनाथ मन्दिरमा हुने जस्तै महाआरती गर्न लागिएको र त्यसका लागि चाहिने सामग्री भारतको वनारसबाट मगाईएको समितिका अध्यक्ष सरोज निरौलाले जानकारी दिए । ‘हाम्रो प्रतिबद्धताः धार्मिक समावेशीता, सामाजिक सहिष्णुता’भन्ने नाराका साथ भद्रपुरमै पहिलो पटक हुन लागेको यस्तो धार्मिक कार्यक्रम सफल बनाउन धार्मिक व्यक्तित्वहरुबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष निरौलाले बताए ।
महाआरतीपश्चात धार्मिक वक्ताबाट शिव महिमा वाचन हुने छ भने सांगीतिक साँझ अन्तरगत पुष्पन प्रधान र कृपा पौडेलले संगीतमय भजन गाउने उनले बताए ।

अहिले हामीसँग कार्यक्रम गर्ने पैसा छैन, अध्यक्ष निरौलाले भने,सबैको सहयोगले कार्यक्रम सभ्य र भव्य हुने विश्वास लिएका छौं । सो कार्यक्रमका लागि स्टेज निर्माण, रंगरोगन लगायतका काम तीव्र गतिमा भइरहेको छ ।

कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ अनुमानित खर्च हुने जनाइएको छ । जमदारचोक युवा परिवारका अध्यक्ष पदम अधिकारीले खर्च व्यवस्थापनका लागि देशविदेशमा रहेका विभिन्न दाताहरुबाट स्वेच्छिक सहयोग संकलन गरिरहेको बताए।
धामको प्रचार–प्रसार र चौतर्फी विकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई छ । २०६० सालमा महाशिवरात्रीकै दिन स्थापना गरिएको मन्दिरले प्रत्येक बर्ष यसै दिन विविध धार्मिक कार्यक्रम गर्दै आइरहेको छ ।
करिब ६ कठ्ठा क्षेत्रफलमा रहेको मन्दिरलाई धामको रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको व्यवस्थापन समिति उपाध्यक्ष गोपालकृष्ण भट्टराईले बताए ।

मन्दिर परिसरमा बहुउपयोगी सामुदायिक भवन निर्माणाधीन अवस्थामा रहेको छ । सरकारको सहयोगमा भवनको आधार (बेस) र पिलर उठाइएको छ । भवनलाई पूर्णता दिन संघ, प्रदेश र स्थानीय सरकारसमक्ष पहल भइरहेको छ भने स्थानीय मनकारी दाताहरुको साथ समेत खोजिँदैछ ।
गुरुकूल सञ्चालनको लक्ष्य लिएको धाममा हाल ६ वर्षदेखि १५ वर्षसम्मका ४० जना बालबालिकाले नैतिक र आध्यात्मिक शिक्षा समेत लिइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्